Home मुख्य समाचार जेनजी आन्दोलनले खोजेको परिवर्तन असफल हुँदै गएको छ : कमल थापा

जेनजी आन्दोलनले खोजेको परिवर्तन असफल हुँदै गएको छ : कमल थापा

राप्रपाका पूर्वअध्यक्ष कमल थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी युवा पुस्ताको आन्दोलनले देशमा चाहेको परिवर्तन टरेर जान लागेको बताउनुभएको छ । राप्रपा नेपाल मकवानपुरको आयोजनामा सोमबार हेटौंडामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले देशी विदेशी शक्ति र असफल भइसकेको गणतन्त्रका अवशेषहरुले साँठगाँठ गरेर जेनजी युवाको आन्दोलन अपहरण गरेको भन्दै युवाले चाहेको परिवर्तनका ढोकाहरु बन्द हुँदै गएको बताउनु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेललाई इङ्गित गर्दै थापाले राष्ट्रपतिले बडो जुक्ति लगाएर भ्रष्ट व्यवस्था र शासकलाई जोगाएको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि असंवैधानिक तरिकाले प्रधानमन्त्री बनेको भन्दै जेनजी युवाले चाहेको परिवर्तन केपी ओली हटाएर सुशीला कार्की ल्याउनुमात्रै हो त ? भनी प्रश्न गर्नुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापाले संविधानलाई निरन्तरता दिने भन्दै अहिलेको सरकार पनि पुरानै मान्यतामा अघि बढिरहेको आरोप लगाउनुभयो । उहाँले अहिलेको मिश्रित निर्वाचन प्रणाली कायम राखेर भ्रष्टाचार र कुशासनको अन्त्य हुन नसक्ने बताउनुभयो । अध्यक्ष थापाले विगत २ दशकदेखि देशमा फैलिएको भ्रष्टाचारको जालोको मुख्य कारण संघीयता, धर्मनिरपेक्ष, गणतन्त्र र निर्वाचन प्रणाली भएको बताउनुभयो ।

अहिलेको निर्वाचन प्रणालीबाट लोकप्रिय दलको समेत बहुमत नआउने भएकाले सांसद्हरुको किनबेच र पुराना दलहरुको अपवित्र गठबन्धन कायम रहने उहाँको धारणा छ । गणतन्त्र र संघीयतालाई कायम राखेर गरिने निर्वाचनको कुनै अर्थ नहुनेसमेत उहाँले बताउनुभयो । अध्यक्ष थापाले राजसंस्थासहित प्रजातन्त्रबाट मात्र नेपालीहरुबीचको राष्ट्रिय एकता कायम गर्न सकिने बताउनुभयो । भेलामा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version