हेटौँडा : हेटौँडा उपमहानगरपालिका–८, कमाने घर भई हाल अष्ट्रेलियामा रहनुभएका विवेक राई र विवेक घोरासैनीले कमाने फुटबल एकेडेमीलाई सहयोग गर्नु भएको छ । एकेडेमीले आयोजना गर्न लागेको पहिलो महिला फुटबल प्रतियोगिताको दोस्रो पुरस्कार राशि वापत राई र घोरासैनीले ३० हजार रुपैयाँ सहयोग गरेको एकेडेमीका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।
यसैगरी हाल दक्षिण कोरिया रहनुभएका हेटौँडा–८, कमानेका प्रितम रुम्बाले ५ हजार रुपैयाँ, हेटौँडा–७, किरणचोकका धर्मराज गम्मीले ५ हजार रुपैयाँ, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ का सुरज तिमल्सिनाले २ हजार २ सय २२ रुपैयाँ, हाल गोर्खा रहनुभएका हेटौँडा–८ का इन्द्रबहादुर खनालले २ हजार २ सय २२ रुपैयाँ र अर्का एकजनाले १ हजार ५ सय रुपैयाँ सहयोग गरेको कमाने फुटबल एकेडेमीले जनाएको छ ।
प्रतियोगिता असोज २९ गतेदखि कात्तिक १ गतेसम्म हुने अध्यक्ष थापाले जानकारी दिनुभयो । प्रतियोगितामा मकवानपुर जिल्लाका ४ वटा, चितवन जिल्लाका २ वटा, बारा र पर्सा जिल्लाका १/१ गरी ८ वटा टिमले सहभागिता जनाउने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले नगद ३० हजार पुरस्कार पाउने छ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । महिला खेलाडीहरुको स्तरनोतिका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाको भनाइ छ ।











