प्रहरीले बरामद गरेको अवैध कपडा र प्रतिबन्धित पटकाको तस्वीर ।

हेटौँडा : मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजममार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडीबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटकासहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ४ बजेर १० मिनेटको समयमा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको “योद्धा” गाडीलाई सुरक्षा जाँच गर्दा अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले गाडी चालक रौतहट जिल्ला बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र गाडीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई पक्राउ गरेको छ । प्रहरीले गाडीको पछाडि ढालाभित्र लुकाइछिपाई राखिएका १४ लाख रुपैयाँ बराबरको १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, १ हजार १ थान कपडाका थानहरू फेला परेका छन् । त्यसैगरी करिब २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका बरामद गरेको प्रहरीले जनाएको छ । सामानसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।