हेटौँडा : गत वर्ष असोजको पहिरोमा परी मृत्यु भएका मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको स्मृतिमा रनिङ्गशिल्ड खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । असोज ९, १० र ११ गते हुने भनिएको प्रतियोगिता जेन्जी आन्दोलनका कारण स्थगित गरिएको थियो । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै असोज ३१ गते देखि कात्तिक २ गतेसम्म प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक विक्रम योञ्जनले बताउनु भयो ।
प्रतियोगिता मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा रहेको मिनी फुडसल कोर्टमा हुनेछ । प्रतियोगिता मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको हो । गत वर्ष असोज १२ गते मकवानपुरको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा प्रतियोगिता संचालन गर्न लागिएको हो ।
सिस्नेरीको पहिरोमा मकवानपुरगढीका योञ्जनसहित हेटौँडाका अनुपम घलान, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी र काठमाडौंका प्रियान्स आचार्य र आदित्य बलम्पाकीको मृत्यु भएको थियो । प्रतियोगिता फुटसलबाट सुरु गरेर अगामी दिनमा ठूलो मैदानसम्म पु¥याउने लक्ष्य रहेको प्रतियोगिताका संयोजक योञ्जनले बताउनु भयो । यस वर्ष पहिलो संस्करणको आयोजना गरिएको र आगामी वर्षमा पनि प्रतियोगिताको आयोजना गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई कर कट्टि गरेर १ लाख र द्वितीय हुनेलाई ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने संयोजक योञ्जनले जानकारी दिनु भयो । प्रतियोगितामा करिब २२ वटा टोलीले भाग लिने अनुमान गरिएको छ ।










