Home मुख्य समाचार फरार कैदीबन्दीलाई कारागार फर्कन असोज २० सम्मको अल्टिमेटम

फरार कैदीबन्दीलाई कारागार फर्कन असोज २० सम्मको अल्टिमेटम

हेटौँडा : मकवानपुरको भीमफेदी कारागार कार्यालयले गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको छ । कारागार प्रशासनले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीहरूलाई असोज २० गते सोमबारसम्ममा कारागारमा फर्किन अन्तिम मौका दिएको हो ।

‘यस भीमफेदी कारागारबाट भाद्र २५ गते फरार भई फर्किन बाँकी कैदीबन्दीहरू असोज २० गते सोमबारसम्म कारागार फर्की आउन हुन सूचित गरिन्छ, अन्यथा सो समय भित्र फर्की नआए कारागार ऐन, २०१९ र अन्य प्रचलित कानुन बमोजिमको थप सजाय हुने छ ।’ सूचनामा भनिएको छ । कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा कुनै पनि किसिमको आश्रय दिने व्यक्तिलाई समेत कसुरदार मानी प्रचलित कानुन बमोजिम कारबाही गरिने कडा चेतावनी दिएको छ ।

कारागार प्रशासनले फरार कैदीबन्दीहरूको खोजी कार्यमा सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ । कारागारले फरार रहेका कैदीबन्दीहरू लुकेछिपेको ठाउँबारे कसैलाई जानकारी भएमा उनीहरूलाई कारागारमा फर्काउने कार्यमा सहयोग गरिदिन परिवार, समुदाय, नागरिक समाज, सञ्चारकर्मी र व्यवसायी लगायत सबैमा हार्दिक अनुरोध गरेको छ । यस कार्यमा सहयोग तथा सूचना आदानप्रदानका लागि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको छ । जसमा प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान अधिकृत, सरकारी वकिल र कारागार प्रशासक सदस्य रहेका छन् ।

Exit mobile version