हेटौंडा : मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा राखिएको सुपथ मूल्य बजारमा करिब ३० लाख रुपैयाँको कारोबार भएको छ । दशैंलाई लक्षित गरेर विभिन्न खाद्यसामग्री बिक्रीका लागि खोलिएको सुपथ मूल्य बजार मंगलबारदेखि शनिबारसम्म ५ दिन सञ्चालन भएको थियो ।
हेटौंडाको पल्पसा प्याराडाइज होटलको प्राङ्गणमा सञ्चालित बजारमा उपभोक्ताहरूलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराइएको थियो । बजारमा १७ वटा स्टलहरू राखिएको थियो, जहाँ विभिन्न प्रकारका सामानहरू बजार मूल्यभन्दा कममा बिक्री गरिएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षतामा भएको समापन समारोहमा सहभागी सबै स्टलका सञ्चालकहरूलाई प्रशंसापत्र प्रदान गरिएको छ । संघका अनुसार पाँच दिनको अवधिमा सुपथ मूल्य बजारमा २९ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १५ हजारभन्दा बढी उपभोक्ताहरुको उपस्थिति रहेकोसंघले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य रहेको समापन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती, उपाध्यक्ष काव्यमणि अधिकारी, राजु अधिकारी, रुपकराज दहाललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सुपथ मूल्य बजारले स्थानीय उपभोक्ताहरूलाई राहत प्रदान गर्नुका साथै स्थानीय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको प्रमुख अतिथि घलानले बताउनु भयो ।










