हेटौँडा : हेटौंडामा एक किराना पसलमा रहरको दाल भित्र कपडाको पोका फेला परेको छ । हेटौँडा–५ स्थित एक किराना पसलमा भारतबाट आयातित रहरको दालभित्र कपडाको पोकामा शंकास्पद वस्तु फेला परेको हो ।
चाडपर्वलाई लक्षित गरी गरिएको संयुक्त बजार अनुगमनका क्रममा माँ अन्जनी किराना पसलमा रहेको दालको बोराभित्र कपडामा बेरिएको सानो पोको फेला परेको हो । उक्त शंकास्पद वस्तु फेला परेपछि प्रशासनले उक्त दालको बिक्री वितरणमा तत्काल रोक लगाएको छ । वीरगन्जस्थित ‘ऊ ट्रेडिङ’ बाट प्याक भएर आएको २५ किलोग्राम तौलको रहरको दालको बोरा खोल्दा शंकास्पद वस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । अनुगमन टोलीले १८ बोरा दालमध्ये २ वटा खोल्दा उक्त पोको फेला पारेको थियो । पसलका सञ्चालकका अनुसार कुल ३० बोरा दाल आयात गरिएकोमा १२ बोरा बिक्री भइसकेको छ । बाँकी रहेका सबै दालका बोराहरु सिलबन्दी गरिएको छ ।
दालभित्र भेटिएको उक्त पोको विषादी हुन सक्ने आशंका गरिएको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै तत्काल बिक्रीमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत पंकज दाहालले जानकारी दिनुभयो । कपडामा बाँधिएको सानो पोको वास्तवमा के हो भन्ने विषयमा अनुसन्धान गरिने उहाँले बताउनुभयो । कार्यालयले पसल सञ्चालकलाई तीन दिनभित्र दालको खरिद बिल पेस गर्न निर्देशन दिएको उहाँको भनाई छ ।
यसैबीच, मंगलबार हेटौँडाका विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्रता दिइएको थियो । कान्तिलोकपथ र भैरवरोड क्षेत्रका ८ वटा किराना पसल, डेरी तथा मिठाई पसलमा अनुगमन गरिएको थियो । सो क्रममा बालाजी ट्रेड लिंकबाट म्याद नाघेको ग्लुकोज, दालमोठ र सुजीको पिठो जफत गरी नष्ट गरिएको छ । त्यसैगरी, शुभम् किराना एन्ड कोल्ड स्टोरबाट पनि अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ भने मुक्तिनाथ डेरीलाई तीन दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको खाद्य अधिकृत दाहालले बताउनुभयो ।











