हेटौँडा : हेटौँडामा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरले ३२ औँ विश्व अल्जाइमर सचेतना दिवस मनाएको छ । संघले आइतबार जिल्लाभित्रका विभिन्न बृद्धाश्रम एवम् ज्येष्ठ नागरिक आश्रयस्थलहरूमा डिमेन्सिया र अल्जाइमरका विविध पक्षहरूको बारेमा चर्चा गर्दै यसको कारण, पहिचान, यसको दुस्प्रभाव, यसबाट बच्ने उपाय, अल्जाइमर प्रभावितहरूले अपनाउनु पर्ने जीवनशैली, प्रभावितप्रति पारिवारिक, सामुदायिक, संस्थागत र सरकारी दायित्व र अपेक्षाहरूका बारेमा सहजीकरणसहितको अन्तरक्रियात्मक कार्यक्रम गरेर ३२ औँ विश्व अल्जाइमर सचेतना दिवस मनाएको हो ।
विश्व अल्जाइमर सचेतना दिवस प्रत्येक वर्ष २१ सेप्टेम्बरको दिन मनाइन्छ । यो वर्ष ‘डिमेन्सियाका बारेमा चासो राखौँ, अल्जाइमर्सका बारेमा बुझ्ने कोशिस गरौँ’ भन्ने विश्वव्यापी नाराका साथ दिवस मनाइएको ज्येष्ठ नागरिक संघ बागमती प्रदेशका महासचिव केशवप्रसाद सञ्जेलले जानकारी दिनुभयो । आइतबार बिहान हेटौँडा–१५ स्थित दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थल र हेटौँडा–१७ स्थित श्रीमद्भागवत ज्ञानसञ्चार बृद्धाश्रममा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षतामा भएको सहजीकरण कार्यक्रमा विशिष्ट आतिथि दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका केन्द्रीय अध्यक्ष तेजराम निरौला, ज्येष्ठ नागरिक संघ बागमती प्रदेशका सल्लाहकार बुद्धिप्रसाद पौडेल र महासचिव सञ्जेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी आइतबार नै बेलुका हेटौँडा–२, चौकिटोलस्थित ॐ बृद्धाश्रममा पनि संघले सहजीकरण कार्यक्रम गरेको महासचिव सञ्जेलले जानकारी दिनुभयो । सहजीकरण कार्यक्रमको अन्त्यमा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरको तर्फबाट पौष्टिक खाजा वितरण गरिएको महासचिव सञ्जेलले बताउनु भयो ।











