हेटौँडा : गत भदौ २३ र २४ गते जेन–जी समूहले गरेको आन्दोलनमा २ सय भन्दा बढी सवारी साधनहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । मकवानपुरका विभिन्न सरकारी कार्यालयका र निजी गरी २ सय भन्दा बढी सवारी साधनहरु जलाइएको पाइएको हो ।
प्रदेशका एवम् स्थानीय सरकारी कार्यालय र निजी घर एवम् व्यावसायिक भवनहरुमा रहेका सवारी साधनहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रदेश, जिल्ला एवम् स्थानीय स्तरका कार्यालयहरुमा कम्तीमा ५७ वटा चार पाङ्ग्रे एवम् हेभी एक्युप्मेन्टहरु जलाइएको देखिएको छ । २६ वटा यि सवारी साधनहरुमा सिसा लगायतका टुटफुट गरी क्षति पुगेको छ । यस्तै १ सय ४९ वटा साना मोटरसाइकल तथा स्कुटर लगायतका दुइपाङ्ग्रे सवारी साधन जलेर नष्ट भएका छन् । यो सँख्या हालसम्म मुचुल्का उठाइएका कार्यालयको मात्र भएकोले र बाँकी कार्यालयको विवरण आउन समय लाग्ने भएकोले यसको सँख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा बागमती प्रदेशको राजधानीका अधिकांश कार्यालय, जिल्लास्थित कार्यालयहरु एवम् हेटौँडा उपमहानगरपालिकाको कार्यालय, ९ वटा वडा कार्यालयहरुमा तोडफोड गरिएको थियो । तोडफोडका क्रममा कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारी साधनहरु आन्दोलनकारीले आगजनी गरिदिएका हुन् । आगजनीबाट हेटौंडा–१० स्थित सामाजिक विकास मन्त्रालय एवम् स्वास्थ्य मन्त्रालयको संयुक्त भवनमा सबैभन्दा धेरै सख्यामा १४ वटा चारपाङ्ग्रे महङ्गा गाडी आगजनीमा परेका छन् भने १६ वटा मोटरसाइकल तथा स्कुटर पनि आगजनीमा परेका छन् ।
प्रदेशसभामा तोडफोड हुनसक्ने आँकलन गर्दै नजिकैको सामाजिक विकास मन्त्रालयमा पार्किङ गरिएका सवारी साधनहरु आन्दोलनकारीले पूर्णरुपमा आगजनी गरेका थिए । यस्तै हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा पनि आगजनी र तोडफोड हुँदा ९ वटा गाडी, १ ट्रिपर, २ वटा ट्रयाक्टर, १ अटो, १ जेसिबी, १ रोलर, १ ग्रास कटर (घाँस काट्ने मेसिन) समेत जलाइएका थिए । सँगसँगै नगरपालिका परिसरमै रहेका १९ वटा मोटरसाइकल तथा स्कुटर समेत जलाइएका थिए । जिल्ला अदालतमा रहेका टाटासुमो, बोलेरो र पिकअप भ्यान गरी ३ वटा गाडी र ४६ वटा मोटरसाइकल एकैपटकमा जलाइएको पाइएको छ । बसामाडी प्रहरी चौकीमा दुर्घटनामा परी राखिएका १९ वटा मोटरसाइकलमा पनि आन्दोलनकारीहरुले आगजनी गरेका थिए । आगजनी गरिएका प्रायः सबै कार्यालयका चारपाङ्ग्रे र दुइपाङ्ग्रे सवारी साधन जलेका छन् । यस्तै चौकीटोलमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय र श्रम तथा यातायात, रोजगार मन्त्रालयको संयुक्त भवन परिसरमा आगजनी हुँदा पनि एकै पटक ४ वटा गाडी तथा ९ वटा मोटरसाइकल र स्कुटर पनि नष्ट भएका छन् ।
आगजनी गरेर आन्दोलनकारीले सरकारी कार्यालयका सवारी साधन मात्र छाडेनन् । हेटौँडा–५ स्थित बानियाँ निर्माण सेवाको तीनताप्केस्थित रेडिमिक्स प्लान्ट क्षेत्रमा १ बोलेरो, १ ट्रिपर र १ सिमेन्ट बल्कर जलाइएको छ भने हाताभित्र पार्किङ गरी राखिएका १८ भन्दा बढी ट्रिपर लगायतका सवारीको सिसा फुटाएर क्षति पुर्याएको छ । यस्तै हेटौँडा–५ स्थित सुमार्गी निवासमा पनि विद्यालयका २ वटा भ्यानहरु जलाएर नष्ट पारिएका थिए । आन्दोलनका क्रममा उच्च सरकारी वकिल कार्यालय कार्यालयको परिसरमा ४ वटा साइकल र जिल्ला अदालत मकवानपुरको परिसरमा ७ वटा साइकल पनि आगजनीमा परेका छन् । प्रहरीले निरन्तर आगजनी तथा तोडफोडमा परेका निजी तथा सरकारी सबै संरचनामा विवरण संकलन गरिहेको भएपनि काम सकिएको छैन । आगामी दिनमा क्षतिको सँख्या बढ्न सक्ने प्रहरीको आँकलन छ ।
