कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली ।

हेटौँडा : प्रगतिशील लेखक संघ बागमती प्रदेश समितिले आफ्नो ७४ औँ स्थापना दिवसको अवसरमा ‘राष्ट्र निर्माणमा प्रगतिशील लेखकको भूमिका’ विषयक परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । संघले आइतबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली र मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक घनश्याम घिमिरेले प्रगतिशील लेखकको भूमिकाका विषयमा परिचर्चा गर्नुभएको थियो ।

मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष नेपालीले नेपाली समाजलाई परिवर्तन गराउन र सामाजिक राजनीतिक चेतना ल्याउन प्रगतिशील साहित्यकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले समाजमा अझै पनि व्यापक कुरीति, कुसंस्कार र अन्धविश्वास रहेकाले यस्ता विषयमा कलम चलाउन साहित्यकारहरुको ध्यानाकर्षण गराउनु भयो । राजनीतिज्ञको भन्दा साहित्यकारको प्रभाव समाजमा छिटो पर्ने उहाँको भनाइ छ ।

त्यसैगरी अर्काका वक्ता मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक घनश्याम घिमिरेले राज्यका लागि पहिला भूगोलकी जनता बुझ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । घिमिरेले वर्तमान समयमा जनता केन्द्रित भई प्रगतिशील लेखन गर्नुपर्ने बताउनुभयो । लेखाईमा ठूला–ठूला क्रान्तिका कुरा गर्ने र अवसरवादी व्यवहार प्रकट गर्ने विषय समस्याको रुपमा औँल्याउनु भयो । प्रगतिशील लेखन लेखाईमा मात्र सीमित नराखी व्यहारमा लागु गर्न सबैको ध्यानाकर्षण गराउनु भयो । प्रगतिशील चिन्तनले वर्गीय विभेद, जातीय विभेद जस्ता सामाजिक समस्या सुधारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रगतिशील लेखक संघ बागमती प्रदेश समितिकी अध्यक्ष शान्ति प्रियवन्दनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रमेश मोहन अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटा, गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जित श्रेष्ठसहित साहित्यकार तथा लेखकहरूको उपस्थिति रहेको थियो ।