आज सोमबार घटस्थापना गरेर जमरा राख्दै यस वर्षको दशैं सुरु हुँदैछ । दशैंलाई नेपालीको सबैभन्दा ठूलो चाड मानिन्छ । नेपाल र नेपालीका लागि दशैं एउटा पर्वमात्रै होइन । देशको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै क्षेत्रमा दशैंको विशेष महत्व रहँदै आएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनलाई दशैं भन्ने गरिन्छ । दशैंको महत्वपूर्ण दिन विजयादशमी (टीका) भए पनि यो पर्व घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म रहन्छ । विभिन्न मन्दिर, शक्तिपीठ तथा कोतघरका साथै गाउँटोलमा नवदुर्गाको मूर्ति बनाएर घटस्थापना गरी जमरा राखेपछि दशैं सुरु हुन्छ । नौ दिनसम्म अर्थात् नवरात्रिभर नवदुर्गाको पूजा गरिन्छ । घटस्थापनको दशौं दिन दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनले टीका, जमरा लगाएर आशीर्वाद दिने गर्दछन् ।
नेपालीहरुको राष्ट्रिय चाड पनि भन्ने गरिएको दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । प्रायः शिक्षण संस्था तथा अदालतहरुमा घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन बिदा हुने गर्दछ । सरकारी तथा निजी क्षेत्रमा पनि दशैंमा एक साता बिदा दिने गरिन्छ । देश, विदेशमा रहेका आफन्त घर फर्कने र परिवारसँग रमाइलो गर्दै दशैं मनाउने गर्दछन् । आफन्त तथा मान्यवरको घरमा गएर टीका तथा जमरा ग्रहण गर्ने, भेटघाट गर्ने, खानपिन गर्ने क्रम पनि दशैंमा व्यापक हुने गर्दछ । दशैंको नवरात्रिभर देशभरका देवी मन्दिरहरुमा दर्शन तथा पूजा गर्न लामो लाइन लाग्ने गरेको छ । नयाँ लुगा लगाउने, मीठा परिकार खाने, पिङ हाल्ने र खेल्ने, चङ्गा उडाउने, शुभकामना आदानप्रदान गर्ने आदि दशैंकै संस्कृतिभित्र पर्दछ । दशैंकै समयमा घर तथा कोठाहरु सरसफाइ र रंगरोगन गर्ने गरिन्छ । पाटीपौवा, मठमन्दिर, बाटोघाटो, पधेँरोलगायत सार्वजनिक सम्पदाको सरसफाइ पनि दशैंको थप विशेषता बन्ने गरेको छ ।
दशैं एउटा पर्वमात्र नभएर अर्थतन्त्र गतिशील बनाउने माध्यम पनि हो । सरकार तथा निजी क्षेत्रले कामदार तथा कर्मचारीलाई दशैंकै समयमा एक महिनाको तलब बराबर रकम चाडपर्व खर्चको रुपमा दिने गरेका छन् । हरेकजसो व्यक्तिले आफ्नो आम्दानीको केही हिस्सा दशैं खर्चका लागि छुट्याउँछन् । दशैंको समयमा बजारमा सबैजसो वस्तु तथा सेवाको बिक्री बढ्छ । दशैंमा साविकभन्दा कयौं गुणा बढी खरिद–बिक्री हुने गर्दछ, जसले देशको अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्दछ । अर्कोतर्फ, दशैंको समयमा आवतजावत गर्ने र भ्रमण गर्ने यात्रुहरुको चापले सार्वजनिक यातायात क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने गरेको छ । दशैंमा हुने लामो बिदा र पारिवारिक जमघटको अवसरमा हुने भ्रमणले पर्यटन व्यवसाय प्रवद्र्धनमा सहयोगी बनिरहेको छ ।
दशैंमा सबैजसो आर्थिक क्रियाकलाप वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको भए पनि यसका थुप्रै नकारात्मक प्रभावहरु पनि छन् । दशैंको समयमा सार्वजनिक सवारीका यात्रुले सास्ती बेहोर्नुका साथै बढी भाडा तिनुपर्ने बाध्यता हुने गर्दछ । दशैंको समयमा बजारमा हुने भिडभाडका कारण कालोबजारी फस्टाउने गरेको छ । दशैंमा सवारी दुर्घटना तथा अन्य आपराधिक क्रियाकलाप पनि अन्य समयमा भन्दा बढी नै हुने गर्दछ । दशैंको बहानामा मदिरा सेवन गर्ने, जुवातास खेल्ने र देखासिकी गरेर अनावश्यक खर्च गर्ने प्रतिस्पर्धा पनि चल्ने गरेको छ । अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण बन्दै आएको दशैं समुन्नत जीवनशैलीको आधार बन्न सकेमा सबै नेपालीको साझा पर्व बन्नसक्छ ।











