Home मुख्य समाचार कुलेखानी जलाशयमा पानीको सतह न्यून

कुलेखानी जलाशयमा पानीको सतह न्यून

कुलेखानी जलाशय

हेटौंडा : मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा पानीको सतह न्यून रहेकोे छ । अघिल्ला वर्षहरुमा वर्षातको समयमा कुलेखानीको सतह करिब भरिने गरेकोमा यसवर्ष पर्याप्त पानी नपर्दा पानीको सतह निकै कम रहेकोे हो ।

शुक्रबार कुलेखानी जलाशयमा पानीको सतह समुद्री सतहबाट १ हजार ५ सय २ दशमलब ३८ मिटरमात्रै रहेको छ । जलाशयमा २२ मिटरमात्र पानीको गहिराई रहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।

अघिल्ला वर्षहरुमा भदौदेखि असोजसम्म जलाशयमा पानीको सतह १ हजार ५ सय २५ मिटर उचाइसम्म पुग्ने गरेको केन्द्रले जनाएको छ । कुल पानी भण्डारण गर्दा समुद्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पुग्ने गरेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

जलाशयको पिँधबाट ५० मिटर उचाइसम्म पानी भण्डारण गर्ने क्षमता छ । तर, यसवर्ष भने पानी कम हुँदै गएको छ । केन्द्र प्रमुख भट्टका अनुसार शुक्रबार पानीको गहिराइ जम्मा २२ मिटरमात्र छ । यसवर्ष जलाशयको जलाधार क्षेत्रमा पानी कम परेको र लगातारको झरी नपरेको कारण जलाशयमा पानी कम भएको उहाँको भनाइ छ ।

जलाशयमा पानी कम भएमा हिउँदमा न्यूनमात्र विद्युत् उत्पादन गर्न सकिने पनि केन्द्र प्रमुख भट्टले स्पष्ट पार्नुभयो । जलाशयमा विद्युत् उत्पादनका लागि न्यूनतम १ हजार ४ सय ८० मिटरउचाइसम्म पानी आवश्यक पर्छ । यो स्तरभन्दा कम भएपछि विद्युत् उत्पादन गर्न सकिँदैन ।

Exit mobile version