हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयका कृषि विषय अध्ययनरत विद्यार्थीहरु इजरायल प्रस्थान गरेका छन् । कृषि इन्टर्नशिप एवम् तालिमका लागि विद्यार्थीहरु इजरायल गएको विद्यालयका प्रधानाध्यापक रामकुमार बलले जानकारी दिनुभयो ।
आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेड र इजरायली राजदूतावासको सहकार्यमा कृषि संकाय अन्तर्गत १२ कक्षा उत्तीर्ण गरेका ७ जना विद्यार्थी इजरायल गएका हुन् । उनीहरु व्यावसायिक इन्कुबेशन सेन्टरको ‘सिक र गर’ कार्यक्रम अन्तर्गत १ वर्षका लागि इजरायल गएका हुन् । जनकल्याण माविबाट पहिलो पटक विद्यार्थी इजरायल गएका हुन् ।
बिहीबार राजेन्द्र गोले, अनिस बस्नेत, जीवन तामाङ, अरुण गोपाली, कर्म साङ्गे घिसिङ, रिजन परियार र सुवाष स्याङतानको समूह इजरायल उडेका छन् । आफ्नै खर्चमा गएका विद्यार्थीहरु त्यहाँ गएर साताको २ दिन पढाई गर्नेछन् भने बाँकी दिन तालिम गर्ने छन् । जनकल्याण माविमा कक्षा ११ र १२ मा विज्ञान, कृषि, व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायको पठनपाठन भइरहेको छ ।











