सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लाका एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, दोलखा, रसुवा र सिन्धुली जिल्लाका एकैदिन ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५, मुग्लिङ बजारमा अचानक बेहोस भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार राती ११ बजेर २५ मिनेटको समयमा काठमाडौबाट महोत्तरी जाँदै गरेको बा प्र ०१–००६ ख ९४५६ नम्बरको बसमा सवार यात्रु महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका–५ का ४५ वर्षीय विजय यादव बेहोस भएका थिए । विजय रामायण होटलमा खाना खाने क्रममा अचानक बेहोस भएका थिए । विजयको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाकै भरतपुर महानगरपालिका–३, बेलचोकस्थित मानवसेवा आश्रममा आश्रित एक जना पुरुषको मृत्यु भएको छ । गत भदौ २६ गते बकुलहर हस्पिटलबाट उद्दार गरी आश्रममा राखिएको अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६, धुन्चेमा घरको २ तलाबाट खसेर सरकारी वकिल कार्यालय रसुवामा कानुनी सहायता अधिवक्ताको पदमा कार्यरत काठमाडौं महानगरपालिका–१०, बानेश्वर घर भई हाल धुन्चे बस्ने ६० वर्षीय सुब्बा सिग्देलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ८ बजेको समयमा घरको २ तलाबाट पछाडि बारीमा खस्दा सिग्देल घाईते भएका थिए । सिग्देलको रसुवा अस्पताल धुन्चेमा सामान्य उपचार पश्चात थप उपचारका लाडि काठमाडौंस्थित सिल्भरलाईन हस्पिटल लगिएको थियो । उपचारको क्रममा साँझ ५ बजेको समयमा चिकित्सकले सिग्देललाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

दोलखा जिल्लाको विगु गाउँपालिका–७, अम्वरटोलमा गोरेटोका बाटोबाट १५ फिट तल सडकमा खस्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय खड्ग बहादुर बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ९ बजेको समयमा बुढाथोकी किराना पसलबाट घर फर्किने क्रममा गोरेटो बाटोबाट १५ फिट तल सडकमा खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–२, संखाजोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय रुद्रमणि अधिकारी रहेको प्रहरीले जनाकारी दिएको छ । बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा रुद्रमणि आफ्नै घरमा बिजुलीको काम गरिरहेको अवस्थामा करेन्ट लागेर बेहोस भएका थिए । रुद्रमणिलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । उपचारका क्रममा राती ९ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाकै कमलामाई नगरपालिका–६ मा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा कमलामाई नगरपालिका–५, डाँडागाँउका ६० वर्षीय विजय चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा खाजा नास्ता पसल अगाडि भुईमै सुतेको अवस्थामा मृत फेला परेका थिए ।