कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

हेटौँडा : बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनको सिलसिलामा भएका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष दिन नहुने बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनमा भएका कमजोरीलाई दलहरुले स्वीकार गर्नुपर्ने र त्यसको जिम्मेवारी लिन सक्नुपर्ने बताउनुभयो ।

संविधान दिवसको अवसरमा शुक्रबार बागमती प्रदेश सरकारद्वारा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले आफ्नो अनुहारमा लागेको धुलोमैलो पुछ्नुको सट्टा ऐना पुछ्नुले आफ्नो गल्ती नचिनिने टिप्पणी गर्नुभयो । उहाँले जनताको अभूतपूर्व बलिदानबाट प्राप्त संविधान कानूनी दस्तावेज मात्र नभएर जनभावना प्रस्फुटन गर्ने सजीव प्राणी सरह भएको उल्लेख गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारहरुको सुनिश्चिततालाई आत्मसात् गरेको वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाज, राष्ट्रिय अखण्डता र एकताको पहरेदार भएको बताउनुभयो ।

‘कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन’, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो । गल्तीहरु बारम्बार दोहोर¥याउनु मूर्खता सिवाय अरु केही होइन ।’

वर्तमान संविधानको परिधिभित्र रहेर नै विकास, समृद्धि, सुशासन, र युवा पुस्ताको चासो र चाहनालाई साकार पार्न सकिनेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । संविधानको सर्वोच्चता न्यायमूलक समाजको अपरिहार्यता भएकोमा जोड दिनुहुँदै उहाँले कानूनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्न नहुने बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले स्वाभिमान र स्वाधीनतामा कहीँ कसैसँग सम्झौता गर्न नहुने दावी गर्नुभयो । समारोहमा उपस्थित सबैलाई आ–आफ्नो तह र तप्काबाट सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहितालाई शिरोपर गरेर आम जनताले प्रत्यक्ष महसुस गर्ने गरी परिणाममुखी कार्यहरुमा जोड दिन उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाई, प्रदेश सरकारका मन्त्रीहरु, पालिकाका प्रमुख, उपप्रमुख, मन्त्रालयका सचिवहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।