Home मुख्य समाचार एक वर्षमा ॐ वृद्धाश्रमलाई २५ लाख रुपैयाँ सहयोग

एक वर्षमा ॐ वृद्धाश्रमलाई २५ लाख रुपैयाँ सहयोग

वृद्धाश्रमलाई नगद सहयोग हस्तान्तरण गरिँदै ।

हेटौंडा : वृद्धवृद्धालाई संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै आएको हेटौंडा–२ स्थित ॐ वृद्धाश्रमलाई आर्थिक वर्ष २०८१/८२ मा नगद १६ लाख र जिन्सी ९ लाख गरी २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । आश्रमलाई विभिन्न अवसरमा सहयोग प्राप्त हुँदै आएको आश्रमका कोषाध्यक्ष फणिन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

आश्रममा रहेका आमाबुबाहरुका लागि जन्मदिन, वैवाहिक उत्सव, विभिन्न संघसंस्थाको वार्षिक उत्सव, पुण्यतिथि, स्वेच्छिकलगायत विभिन्न किसिमका सहयोगहरु हुँदै आएका छन् । खाद्यान्न सामग्री सहयोगमा दाल, चामल, नुन, तेल, चिनीजस्ता दैनिक आवश्यक पर्ने खाद्य सामग्रीहरू सहयोग हुने गरेको छ । यसका साथै कतिपयले एकछाक खानाको व्यवस्था गर्ने गरेका छन् । एक छाकको खानाबापत आश्रमले नगद ७ हजार ५ सय रुपैयाँ लिने गरेको उहाँले जानकारी दिनुभयो ।

२०६४ सालमा स्थापना भएको आश्रमले हालसम्म ४५ जना वृद्धवृद्धालाई पारिवारिक पुनर्मिलन गराएको छ । हालसम्म आश्रममा २५ जनाको मृत्यु भएको छ । स्थापनादेखि आश्रमले हालसम्म ९१ जना वृद्धवृद्धाको उद्धार गरेको छ । आश्रममा हाल १४ जना आमा र नौ जना बुबाहरु आश्रित हुनुहुन्छ ।

आश्रममा सुरुवाती चरणमा खाद्यान्न सामग्री अभाव भएपनि पछिल्लो समय खाद्यान्न सामग्रीको अभाव नहुने गरेको कोषाध्यक्ष तिमल्सिनाले बताउनुभयो । आश्रमलाई मकवानपुर सहकारी अस्पतालले प्रत्येक वर्ष २५ हजार रुपैयाँ औषधि उपचार कोषमार्फत् दिने गरेको छ ।

बृद्धाश्रममा गत साउन महिनामा खाद्यान्न र नगद गरी १ लाख ९८ हजार ५६५ रुपैयाँ सहयोग प्राप्त भएको छ । यस्तै, भदौ महिनामा २ लाख ७९ हजार १७० रुपैयाँ सहयोग प्राप्त भएको कोषाध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । अहिले सोह्रश्राद्धको समय रहेकाले आफ्ना पितृको उद्दारका लागि धेरैजसो मानिसहरु एकछाक खाना खुवाउने तथा खाद्य सामग्री वितरण गर्ने गरेका छन् ।

Exit mobile version