हेटौँडा : बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले औपचारिक रुपमा राजीनामा दिएपछि विषम् परिस्थितिबाट गुज्रिरहेको प्रदेशसभाको विषयमा अहिले चासो उच्च छ । प्रदेशसभाको काम कारवाही र आगामी कार्यसम्पादनको विषय कसरी अघि बढ्छ भन्ने चासो बढ्नु स्वभाविक पनि हो ।
बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले ह्वाट्स एप मार्फत् आधिकारिक पत्र पठाउनुभएको छ । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा भदौ २३ गते भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएको थियो । पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मतसहित सभामुख निर्वाचित हुनुभएको थियो ।
सभामुख पाठकको राजीनामासँगै प्रदेशसभाको नेतृत्व अब उपसभामुखको काँधमा रहने छ । सभामुखको पद रिक्त हुँदा उपसभामुख अप्सरा चापागाईले निर्वाचन प्रक्रिया अघि बढाउनु कानुनी बाध्यता रहेको उपसचिव (कानुन) मनुका घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभामा सभामुख पद रिक्त भएको अवस्थामा सभा सञ्चालनको सम्पूर्ण जिम्मेवारी उपसभामुखमा रहने र नयाँ सभामुख चयनको प्रक्रियालाई कानुनी रुपमा लामो समय रोक्न मिल्दैन ।
‘सभामुखको अनुपस्थितिमा प्रदेशसभाको बैठक बोलाउँदा अध्यक्षता उपसभामुखले नै ग्रहण गर्नुपर्ने हुन्छ । उहाँले सभामुखकै भूमिकामा सभा सञ्चालन गरेपछि पहिलो एजेन्डाको रुपमा दलहरुको सहमतिमा नयाँ सभामुख निर्वाचनको मिति तोकेर प्रक्रिया अगाडि बढाउनुपर्ने कानुनी व्यवस्था छ’, उपसचिव घिमिरेले भन्नुभयो ।
वर्तमान अवस्थामा उपसभामुखले नै सभाको अध्यक्षता ग्रहण गरी ‘रुलिङ’ गर्ने र सबै दलको सहमतिमा नयाँ सभामुख चयनको प्रक्रियालाई अविलम्ब अगाडि बढाउनु नैसंवैधानिक र कानुनी बाटो रहेको उहाँको भनाई छ । बागमती प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार सभामुख पाठकले उपसभामुखलाई सम्बोधन गरी राजीनामा बुझाएसँगै बैठकको अध्यक्षता उपसभामुखले गर्ने र नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउने पर्ने हुन्छ । प्रदेश सभाको अधिवेशन अन्त्य नभइसकेकाले उपसभामुख चापागाईले मिति तोकेर बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनुभयो । सोही बैठकमा सभामुखको राजीनामा पत्र पढेर सुनाइनेछ र नयाँ सभामुख निर्वाचनको मिति तय गर्न सक्ने अवस्था रहेको उहाँको भनाई छ ।
‘संविधानको धारा १८२ को उपधारा (१) मा प्रत्येक प्रदेश सभाको पहिलो बैठक बसेको पन्ध्र दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कुनै कारणवश पद रिक्त भएमा पनि प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम ८ अनुसार सोही कार्यविधिबमोजिम निर्वाचन गरी पदपूर्ति गरिने उल्लेख छ । सभामुखको राजीनामा स्वीकृत भएपछि सूचना प्रकाशन गरिने र त्यसपछिको पहिलो बैठकबाट निर्वाचन प्रक्रिया अगाडि बढाइने कानुनी व्यवस्था रहेको छ ।’ उहाँले भन्नुभयो ।
सभामुख पाठकले राजीनामा दिएको उक्त अवस्थामा प्रदेशसभा भवन र सचिवालय लगायतका संरचना आगलागीका कारण ध्वस्त हुँदा सभा सञ्चालनमा चुनौती थपिएको छ । सचिव पौडेलका अनुसार आगलागीका कारण सचिवालयले प्रारम्भिक रुपमा ३५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ । जसमा साढे १२ करोडको नयाँ भवन, सचिवालय भवन, अन्य साना तथा संसदीय दलका भवनहरु र भवनमा रहेका जीन्सी सामग्रीहरु जलेर क्षती पुगेको उहाँले जानकारी दिनुभयो ।
क्षतिको पूर्ण विवरण संकलन गर्ने काम तत्काल सुरु गरिने र त्यसपछि सरसफाइ र पुनर्निर्माणको काम अगाडि बढाइने उहाँले बताउनुभयो । तत्काल बैठक बस्नुपर्ने अवस्था आएमा कहाँ बस्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ । ‘अस्थायी विकल्पका रुपमा परिसरभित्रकै पुरानो ग्यारेजलाई मर्मत गरेर बैठक सञ्चालन गर्न सकिने वा सुरक्षित रहेका संसदीय दलका कार्यालयहरु प्रयोग गर्ने विषयमा विचारविमर्श भइरहेको छ । यद्यपि, बैठक संचालनको लागि माइक, रेकर्डिङ र इन्टरनेटजस्ता प्राविधिक सामग्रीहरु भाडामा लिनुपर्ने अवस्था रहेको छ ।’ सचिव पौडेलले भन्नुभयो, ‘जेन जी आन्दोलनका क्रममा सचिवालयका तीन वटा गाडी, छ वटा मोटरसाइकल र केही निजी सवारीसाधनहरु समेत जलेर नष्ट भए ।’
