हेटौंडा : भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा हत्या र आगजनी गर्नेहरुलाई निष्पक्ष ढंगले छानविन गरी दोषीलाई कारबाही गर्न मकवानपुरका व्यावसायिक संगठनहरुले सरकारसँग माग गरेको छ । मंगलबार मकवानपुरका विभिन्न निजी क्षेत्र सम्बन्धित संघसंस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धको बिरोधमा भएको जेन–जी आन्दोलनमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा सार्वजनिक र निजी सम्पत्तिको ठूलो क्षति हुन पुगेको जनाइएको छ ।
आन्दोलनको क्षतिका कारण अहिले मुलुक गम्भिर आर्थिक संकटमा फसेको बताउँदै व्यावसायिक घरानाहरुमा भएको आक्रमण खेदजनक भएको जनाइएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, मकवानपुर होटल एसोसियसनका उपाध्यक्ष कल्याण पौडेलद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उद्योग व्यवसाय सञ्चालन गर्दा भ्रष्टाचार गरी कमाएको भन्ने गलत मनोविज्ञान व्याप्त रहेको आन्दोलनका घटनाक्रमले देखाएको उल्लेख छ । उद्योग व्यवासाय नै देश विकासको आधारस्तम्भ भएको विज्ञप्तिमा जनाइएको छ ।
उद्योग तथा व्यवसायमा आबद्ध लाखौं नागरिकले पाएको रोजगारी र राज्यलाई बुझाएको करबाट नै देशले राजश्व प्राप्त गरी समृद्धि हासिल गर्ने भएकोले यसप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिइएको छ । व्यावसायिक घरानामा आक्रमणले पुँजी पलायनको सम्भावना बढाएको भन्दै यसलाई रोक्न क्षति पुगेका संरचना पुननिर्माणमा राज्यले सहुलियत दिनुपर्ने मागसमेत व्यवसायीहरुले राखेका छन् ।
यस्तै, आन्दोलनको क्रममा निर्माणाधीन संरचनामा क्षति पुग्दा निर्माण व्यवसायीले सहुलियत पाउनुपर्ने उल्लेख गर्दै विभिन्न कारणहरु देखाई सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी रोक्न नहुने माग विज्ञप्तिमा गरिएको छ । संविधान र कानुनको परिपालना राज्य र नागरिक दुबै पक्षले गर्नुपर्ने बताउँदै आगामी दिनमा हुने यस्ता प्रदर्शनमा समेत यस्तै गतिविधि नदोहोरिने अवस्था सुनिश्चित गर्न राज्यपक्षसँग माग गरिएको छ ।
