हेटौँडा : राष्ट्रिय बाल दिवसको अवसरमा आइतबार विद्यालयहरुमा विद्यार्थीको मानसिक एवम् शारीरिक विकासमा सहयोग पुग्ने अतिरिक्त क्रियाकलापहरु भएका छन् । हेटौँडा–१८ स्थित कमला आधारभूत विद्यालयले बाल दिवसको अवसरमा शिक्षकहरुको उपस्थितिमा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरेको छ ।
विद्यालयका प्रधानाध्यापक गोविन्द उपे्रतिका अनुसार म्युजिकल चेयर, तातो आलु, बेलुन ब्लास्ट र चित्रकला जस्ता प्रतियोगिताहरु आयोजना गरिएको थियो । ती प्रतियोगिताहरु तहगत रुपमा छुट्टाछुट्टै भएको थियो । कक्षा पिजी, केजी र नर्सरी बीच भएको तातो आलु प्रतियोगितामा प्रतिमा स्याङ्तान प्रथम हुनुभयो । कक्षा १ देखि ३ सम्म भएको बेलुन ब्लास्ट प्रतियोगितामा सुअंशु तिमल्सिना र कक्षा ४ र ५ मा भएको म्युजिकल चेयर प्रतियोगितामा पासाङ भोम्जन प्रथम हुनुभयो । त्यसैगरी ६ कक्षादेखि ८ कक्षासम्म भएको चित्रकला प्रतियोगितामा आकाश लामाले प्रथम स्थान हासिल गर्नुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई कपी, कलम र पेन जस्ता स्टेशनरी सामग्रीहरु प्रदान गरिएको प्रधानाध्यापक उप्रेतिले बताउनु भयो ।
यस्तै मकवानपुरगढी गाउँपालिका–६ स्थित जालपादेवी माध्यमिक विद्यालयले बाल दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । विद्यार्थीबीच विभिन्न खेल खेलाई बाल दिवस मनाइएको प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभयो । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले तहगत रुपमा फरक फरक खेलमा सहभागी भएका थिए । कक्षा नर्सरीमा गणित नम्बर रेस र कक्षा केजीदेखि ३ कक्षासम्म चकलेट रेस खेलाइएको थियो । त्यसैगरी ५ कक्षादेखि ६ कक्षासम्म बेलुन डान्स, ७ कक्षा र ८ कक्षाका विद्यार्थी बीच म्युजिकल चेयर र ९ कक्षा र १० कक्षामा घैंटो फुटाउने खेल खेलाइएको प्रधानाध्यापक गौतमले बताउनु भयो ।
आइतबार बिहान विद्यालयका बाल क्लबको अध्यक्ष समीर बजागाईको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम दिउँसो कार्यक्रमहरु भएको थियो । यो वर्ष ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आईतबार ६१ औँ राष्ट्रिय बाल दिवस मनाइएको हो ।
