परिवर्तनको आकांक्षा बोकेर भ्रष्टाचार, बेथिति, अराजकताको विरुद्ध आम जनतामा गुणस्तरीय सेवा, साधन र श्रोतको आवश्यकता कसीमा समता र समानताको आधारमा वितरण गरोस सामाजिक न्याय स्थापित गरोस् अर्थात जनपक्षीय सरकार जसलाई नागरिकले आफ्नो अर्थात मेरो सरकार हो भन्ने महसुस गरोस् भन्ने माग राखेर भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा ज्यान आहुति दिनुहुने ति तमाम जेन जी पुस्ताका साथीहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । आन्दोलनको क्रममा घाइते हुनुहुने ती तमाम साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जेन जी आन्दोलनप्रति सरकारको चरम दम्भ र लापरवाहि तथा बल प्रयोगको घोर निन्दा एवम् भत्र्सना गर्दछु ।
भ्रष्टाचार, दण्डहीनता र बेथितिको अन्त्य गरी सुशासन माग राख्दा राज्यद्वारा ति अवोध विद्यार्थी र युवाको संहार गरेको कालो दिनले अत्यन्तै पीडा, बेचैनीका वाबजुद आवेग र आक्रोशको मनस्थितिलाई संयमित बनाउँदै हामीले सोचेको जस्तो हाम्रो देश किन बन्न सकेन ? बन्न नसक्नुको कारण के–के हुन् ? के–के कुरा कसरी गर्दा बन्न सक्छ भनेर आलोचनात्मक चेत राखेर अघि बढिरहेको जेन वाई अर्थात् मिलेनियम पुस्ताको एक नेपाली युवा र नेपालको व्यवस्था परिवर्तनका लागि भएको १० वर्षे महान जनायुद्ध र त्यो राजनैतिक आन्दोलनको एक क्रममा विस्थापित जीवनसहित परिवारको सदस्य गुमाएको सहिदको सन्तती हुनुको नाताले केही लेख्ने जमर्को गरिरहेको छु ।
सामान्यतया सन् १९९७ देखि २०१२ सम्म जो स्मार्ट फोन, इन्टरनेट र सूचना प्रविधि द्रूत विकास सँगै–सँगै जन्म लिएका पुस्तालाई जेनेरेशन जेड भनिन्छ भने सन् १९८१ देखि सन् १९९६ सम्म जन्म लिएका मिलेनियम अर्थात जेनेरेशन वाई पुस्ता भनेर चिनिन्छ । भने नेपालको सबैभन्दा शक्तिशाली आन्दोलन जसले आम नेपाली किसान, महिला, युवा, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, पिछडीएको क्षेत्र, अल्पसंख्यक, मधेसी, पहाडी, हिमाली, सबैलाई एकै पटक विचार मार्फत उद्वेलित गरी संगठित रुपमा राज्यको विरुद्ध जनताका छोराछोरीले बन्दुक बोकेर आफ्नो अधिकार र जनताको व्यवस्थाका लागि संघर्ष भइरहेको सन्दर्भमा यो पुस्ताको जन्म तथा विकास भएको छ सायद क्रान्तिकालमा जन्म लिएका हुनाले क्रान्तिकारी पुस्ता भने सरकारले विकल्प नदिई आम नेपालीको सञ्चारको माध्यमलाई नियमन गर्ने नाममा एक्कासी २६ वटा सामाजिक सञ्जाललाई एक्कासी बन्द गरेको सन्दर्भमा आजको देशैभरि भएको आन्दोलन र त्यहाँ आएका युवाहरुको अनुहारलाई नियाल्दा जेनेरेशन जेड र वाई पुस्ताको संयोजनमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग मार्फत आन्दोलन उद्वेलित भई स्वतःस्फूर्त रुपमा संचालन भएको देखिन्छ भने यसलाई कुनै पनि सांगठनिक सिद्धान्तका आधारमा संगठित गरेको जस्तो पनि देखिँदैन र यो आन्दोलनको नेतृत्व सबैले सबैलाई गरेको देखिन्छ ।
आन्तरिक कारणको रुपमा हेर्दा सरकार भ्रष्टाचारद्वैत कानुन, अन्याय, शक्तिको चरम दुरुपयोग, अकुत सम्पत्ति आर्जन गर्नु नातावाद र अवसरवादको कसीमा उत्कृष्ट हुने, नागरिकलाई करदाताको रुपमा साधन ठान्ने प्रवृत्ति मौलाउँदै गइरहेको, युवा पलायन बढ्नु, देशभित्र बेरोजगारी बढ्नु, आर्थिक असमानताको खाडल झन् धेरै बढ्दै गइरहेको दिनानु दिन अर्थतन्त्र धरासायी हुँदै जानु सरकारी श्रोत तथा सेवा शक्ति र पहुँचको आधारमा विभेदकारी हुनु लगायतका तमाम बेथितिलाई यो दुवै पुस्ताले नजिकबाट नियालिरहेको थियो । देश भित्र आम युवा पंक्तिमा चारैतिर निराशा छाइरहेको सन्दर्भ एकातिर छँदै थियो भने यो युवा पुस्ता उमेरका हिसाबले पनि सकारात्मक परिवर्तनका लागि जस्तोसुकै कदम चाल्न तयार भइरहेको यहि समयको आलोकमा सरकारको सामाजिक सञ्जाल बन्द गर्ने स्वेच्छाचारी, अविवेकी र निरंकुश शैलीले गर्दा नै धैर्यताको बाँध टुटिसकेका जेन जी पुस्ताको आक्रोशलाई आन्दोलनको रुपमा परिवर्तित गरायो भन्न हिच्किचाउनु पर्दैन ।
राजनीतिक दलभित्र केन्द्रिकृत मानसिकता एवम् पुस्तान्तरण नहुनु, दोस्रो तेस्रो पुस्ता पनि भ्रष्टाचार र चाप्लुसीमा मग्न हुनु र तिनमा पनि हामी नेतृत्व लिन्छु भन्ने आँटको विकास नहुनु, तीनै तहका सरकारलाई नागरिकले जनसरकारको रुपमा महसुस गर्न नसक्नु, शक्ति र सत्ताको उन्मादले नेतृत्वमा दम्भ अहंकार बढ्नु, विकासको स्पष्ट खाका नहुनु, विकृत, प्रक्रियामुखी र अनुचित लाभमा केन्द्रित कर्मचारीतन्त्र, बोझिलो र खर्चिलो निर्वाचन प्रणालीका साथै निर्वाचित जनप्रतिनिधिको भड्किलो जीवनशैली र व्यवहार जस्ता तमाम समस्यालाई भोगिरहेको यो पुस्तालाइ यसलाई बदल्ने सबैभन्दा भरपर्दो र अन्तिम माध्यम आन्दोलन मात्र थियो र यस्तै पुस्ताले यस्तो प्रकारको आन्दोलनको नेतृत्व पनि गरिसकेको ऐतिहासिक अनुभव र दक्षता पनि राख्दथ्यो । यहि पुस्ताले नै विश्व इतिहासमा न्याय समानता र मानवीयताका लागि भएको परिवर्तनका लागि आफ्नो ज्यान आहुति दिएको पनि थियो यहि कुरा बुझ्न वर्तमान नेतृत्व चुक्यो भने समाज र जीवन निरन्तर गतिशील हुँदा क्रान्ति र आन्दोलनहरु परिवर्तित स्वरुपमा निरन्तर भइरहन्छन् भन्ने समाज विज्ञानको ऐतिहासिक तथ्यलाई राजनीतिक नेतृत्वले अब त यहि अवस्था नै चिर वा स्थायी हो भनेर मैमत्त हुँदाको फलस्वरूप जेन जी युवा विद्यार्थीहरु आन्दोलित भए ।
बाह्य कारणको हिसाबले हेर्दा नेपालसँगै परिवर्तनलाई आत्मसात गरेका छिमेकी मुलुकहरु विश्वका उदीयमान र विकसित राष्ट्रको रुपमा अग्रपंक्तिमा देखापर्नु, विकसित मुलुकले हाम्रो जस्तो मुलुकलाई दाश बनाउन वा प्रभुत्व जमाउन अनेक क्रियाकलाप गर्नु, अस्थिरताका लागि क्रिडास्थल बनाउन खोज्नु, आफ्नो देशलाई विश्व जगतले मात्र उपभोक्ताको रुपमा बुझ्नु, बैदेशिक रोजगारीमा गएकाहरुले नेपाली हुनुको नाताले भोगेको अपमान, अर्काको देशको नागरिकको रुपमा आफुलाई अङ्गीकार गरेर देश छोडेर जानेहरुले गरेको आर्थिक प्रगति र विलासी जिवनशैली नजिकबाट देख्नु, त्यहाँका राज्यको जनतालाई प्रदान गरेको सेवा र निर्वाचन प्रणालीलाई देख्नु पढ्नु लगायतका विविध कारणले पनि जेन जी र वाई पुस्तालाई आन्दोलनमा जान बाध्य बनायो ।
यी त जेन जी आन्दोलनका लागि निमित्त भएका समस्या र कारणहरु हुन् तर जेन जी र वाई पुस्ताले अबको आन्दोलन वा संघर्षका कार्यक्रमलाई अझै सुसंगठित, शान्तिपूर्ण र रचनात्मक बनाउन जरुरी छ भने समाजका हरेक तह र तप्काका आम नागरिकहरुसँग अन्तरक्रिया र साक्षात्कार हुँदै सबैको मनोभावना बुझ्दै उनीहरुको साथ लिएर अगाडि बढ्नु छ । फेरी अर्कोतिर यो आन्दोलनलाई साम्राज्यवादी मुलुकले चलाइरहेको वा परिचालित गरिरहेको छ भन्ने भाष्यलाई मिथ्या सावित गर्दै नेपालको आफ्नो मौलिकता र अनुकुलताको आधारमा नेपालिका लागि नेपाली युवाहरु सचेत भएर आएका हुन् भनेर व्यवहारको आधारमा पुष्टि गर्नु पनि छ । साथै इतिहासमा जनताको छोराछोरीले आफ्नो रगत र संघर्षले कहिले नफर्कने गरी फालिएको शक्तिले पनि यो आन्दोलनलाई प्रयोग गरेको छ कि ? भन्ने संसयका बीचमा आन्दोलन निरन्तरतामा जान सक्दैन भन्ने राजनीतिक नेतृत्व तथा कार्यकर्ताको मनोगत तथ्यलाई वर्तमानको यहि व्यवस्था भित्र भएका कमजोरीलाई हटाउन र अझ यो भन्दा उन्नत प्रणाली विकास गर्न यी जेन जी आन्दोलन हो भनेर आम जनतालाई सुसुचित गरेर चिर्न जरुरी छ । राजनीतिक रुपमा अवसरवादीहरु आन्दोलनको जस लिन होडबाजी गर्नेछन् । त्यसलाई पनि स्पष्ट दृष्टिकोण, कार्यनीति र कुशल नेतृत्व मार्फत हामी सक्छौं यदि जानेका छैनौं भने सिक्दै जानेछौं भन्ने मान्यता रहेर उपचार गर्न सफल हुन सक्न पर्छ ।
संसारभरिका देशहरु राजनीतिक र दलीय प्रणाली भित्र आम जनताको मतद्वारा निर्वाचित भई राज्य संचालन गर्दछन् । गाली गरेर मात्र हुन्न । नेपालका हरेक दल भित्र असल व्यक्तिहरु छन् । उनीहरुलाई हाम्रो यो आन्दोलनमा सरिक गराउन सक्नु पर्छ । त्यसका लागि उनीहरुले इतिहासमा गरेका त्याग र योगदानहरुको सम्मान गर्दै उनीहरुसँग पनि स्वस्थ अन्तरक्रियालाई तिव्रता दिन सक्नु पर्छ । अन्य दलमा रहेका जेनजी र वाई पुस्ताले यो आन्दोलनलाई नकारात्मक रुपमा बुझ्न जरुरी छैन । किनकि अहिले जुन माग राखेर आन्दोलन भइरहेको यदि ति मागहरु पूरा हुँदा आन्दोलनमा सहभागी हुनेले मात्र लाभ पाउने होइन, आम युवा पुस्ताले नै पाउने हो भन्ने कुरा बुझ्न जरुरी छ । ति साथीहरुले गलत दिशामा आन्दोलन जान नदिन हामी सबैले आ आफ्नो ठाउँबाट इमान्दार कोसिस र पहल गर्न जरुरी छ । अहिले आन्दोलनमा ऐक्यबद्धता वा सरिक हुन नसक्नेले पनि यो आन्दोलनलाई बचाउ गर्न जरुरी छ । दलका मान्यता र सदस्यतालाई स्थगन गरेर आन्दोलनमा पवित्र उद्देश्ले सहभागी हुन जरुरी छ । बेला भएको छ जाग्ने जागौं साथी हो ।
हुन त यतिबेला आन्दोलनको परिणामस्वरुप सरकार परिवर्तन भएको छ । सरकार गठनको विषयलाई लिएर आमरुपमा आशा गरिएको छ । यद्यपि जेन जी पुस्तामा पुराना आन्दोलनमा होमिएका जेनजी पुस्ताले समस्या देखाएर आन्दोलन गर्ने मात्र छुट छैन समस्या भन्ने कुरा ठुलो विषय होइन मुख्य कुरा बदल्ने हो । त्यसैले आन्दोलनमा रहेका जेन जी पुस्ताले भ्रष्टाचाररहित सुशासन, पारदर्शिताका साथै आत्मनिर्भर अर्थप्रणाली, पूर्ण समामुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप, विधिको शासन, आवधिक निर्वाचन प्रणाली, जनताका आधारभूत आवश्यकता परिपूर्ति हुने अवस्थाका लागि त्यस्तो राज्य जहाँ कोहि गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्य जवाफदेही हुने व्यवस्था, सामाजिक न्याय, समावेशिता र आम सहभागिता सहितको तथ्यमा आधारित आर्थिक विकासका लागि हामीसँग यस्ता खाका र योजनाहरु छन् जसको नेपालको श्रोत साधन र क्षमताका आधारमा कार्यान्वयन गर्न सकिन्छ र यसका लागि यति समय भित्र नतिजा जनताको जीवनमा अनुभूत हुनेगरी गर्न सकिन्छ भनेर पनि नेपाली नागरिकलाई देखाउन सक्नु पर्छ ।
नेपाल हरेक १५ देखि २० वर्षमा आन्दोलनका नयाँ नयाँ स्वरूप देखा परिरहेको छ । यसले पनि के देखाउँछ भने नेपालीहरु परिवर्तन छिट्टै आइदिओस् र अनुभूत गर्न पाइयोस् भन्ने आकांक्षा राख्दछन् । त्यसैले यो पुस्ताले आम नागरिकमा रहेको तीव्र परिवर्तन चाहना र महत्वाकांक्षालाई यो सामाजिक जीवनका विषय हुन् । यसका लागि सबैको मिहिनेत परिश्रम र लामो समयको धैर्यता आवश्यक पर्छ पनि भन्न सक्नु पर्छ भने देश भित्र नै उत्पादन र उपादकत्व बढाउने र सोको मूल्यशृंखला आधारित उद्योग र सोको बजारीकरणको व्यवस्था हुन सक्ने कार्ययोजना हुन सक्नु पर्छ । त्यसका लागि युवाहरुले अत्यधिक खोज, अनुसन्धान गर्न तत्पर हुन पर्छ । आर्थिक असमानता र विभेदको सकारात्मक रुपान्तरण मार्फत समानता स्थापित गर्न राज्य नीति र कार्यक्रमहरु यस्तो हुनेछन् भनेर पनि भन्न सक्न पर्छ । यी र यस्तै विषयहरुलाई स्पष्ट राखेर सोको सफल कार्यान्वयन गर्न सके परिवर्तन युवाले हाम्रै पाला गर्न सक्छन् र आन्दोलनले पनि सार्थकता प्राप्त गर्न सक्छ । आज आन्दोलनमा सहादत भएका र घाइते भएका प्रति साचै न्याय हुन सक्छ । आऔं जागौं, हातेमालो गरौं । जय युवा, जय क्रान्ति, जय जेन जी ।
(लेखक सहीद परिवारका सदस्य हुन् ।)
