Home मुख्य समाचार जेन जी आन्दोलनमा लुटपाट भएका सामान संकलन गर्दै मकवानपुर प्रहरी

जेन जी आन्दोलनमा लुटपाट भएका सामान संकलन गर्दै मकवानपुर प्रहरी

आन्दोलनका क्रममा चोरी तथा लुटपाटमा संलग्न एकलाई प्रहरीले पक्राउ गर्दै ।

हेटौँडा : जेनजी युवाको आन्दोलनका क्रममा भदौ २४ गते हेटौँडामा लुटपाट घटनामा संलग्नहरुमाथि प्रहरीले कारबाही तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहान प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट चोरी गरिएको दुई ट्रक सामान बरामद गरेको छ ।

आन्दोलनको फाइदा उठाउँदै विभिन्न अवाञ्छित व्यक्ति र समूहले सरकारी तथा सार्वजनिक कार्यालयहरु र व्यक्तिका घर तथा व्यावसायिक प्रतिष्ठानहरुमा पसेर लुटपाट तथा आगजनी गरेका थिए । सोहि क्रममा हेटौँडा–१० स्थित स्वास्थ्य मन्त्रालयबाट दराज, टेबल, कुर्सी, कम्प्युटरलगायतका सामग्री आन्दोलनकै क्रममा लुटपाट गरिएको थियो । ती सामानहरू स्थानीयको सूचना र सहयोगमा वडा प्रहरी कार्यालयले कर्राबाट बरामद गरेको हो ।

प्रहरीका अनुसार लुटपाटमा संलग्न केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको राति दुईवटा ट्रकमा सामान लोड गरेर कर्रातर्फ लगिएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोहि आधारमा खोजी गर्ने क्रममा ती सामग्रीहरु फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार मात्र मकवानपुर प्रहरीले आम सर्वसाधारणलाई अपिल गर्दै लुटपाटमा संलग्नलाई नछोप्न र लुटिएको सामग्री वा भिडियो प्रमाणहरू तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको थियो । मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले लुटपाटमा संलग्न कसैलाई पनि नछोडिने भन्दै घटनामा संलग्न जो कोहिलाई पनि अनुसन्धानको दायरामा ल्याउने र दोषी ठहरिए कारवाही गर्ने बाउनुभएको छ । उहाँका अनुसार शनिवार बरामद सामग्री सुरक्षित गरिएको र बाँकी सामानहरु पनि खोजी भइरहेको छ ।

भदौ २४ गतेको आन्दोलनपछि राजधानीदेखि विभिन्न प्रदेशसम्म सरकारी तथा गैरसरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू भएकोमा प्रहरीले नियन्त्रण, खोजतलास र सार्वजनिक सहयोगमा बरामद कार्यलाई प्राथमिकता दिएको जनाएको छ ।

Exit mobile version