हेटौंडा : बागमती प्रदेश सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सर्वपक्षीय बैठक गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले असोज १ गतेदेखि ३ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले संविधान दिवस २०८२ लाई राष्ट्रिय दिवसको भव्यताका रुपमा मनाउने सन्दर्भमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशका विभिन्न मन्त्रीहरु एवम् प्रदेशसभाका सभामुख एवम् उपसभामुख, प्रदेशका सम्पूर्ण मन्त्रीहरु, प्रदेशका आयोग तथा विभिन्न निकायहरुको प्रमुख तथा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, सुरक्षा संयन्त्र प्रमुख, हेटौंडा उपमहानगरपालिकाका प्रमुखलगायतका संघ संस्थाका प्रमुखहरुको सदस्य रहेको दिवस मूल समारोह समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले असोज १ गते सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा संविधान, सबल राष्ट्रको निर्माणको आधार विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता गर्ने जनाएको छ ।
असोज १ गते नै युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले खेलकुद प्रतियोगिताको आयोजना तथा व्यवस्थापन गर्नेछ । असोज २ गते स्वास्थ्य मन्त्रालयको संयोजकत्वमा सार्वजनिक रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ । सोही दिन वन तथा वातावरण मन्त्रालयले उपयुक्त स्थान पहिचान गरी वृक्षरोपण कार्यक्रम आयोजना गर्नेसमेत निर्णय गरिएको छ ।
संविधान दिवसको मुख्य दिन असोज ३ गते हेटौंडा उपमहानगरपालिकाको संयोजकत्वमा प्रदेशका मन्त्रालयहरु र कार्यालयहरुले आ–आप्mना कार्यालय परिसर सरसफाइ गर्ने कार्यक्रम तोकिएको छ । यस्तै, हेटौंडा उपमहानगर क्षेत्रभित्र विशेष सरसफाई कार्यक्रम गर्ने जनाएको छ ।सोही दिन सांस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रभातफेरी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मुल कार्यक्रम गरिने बैठकले निर्णय गरेको छ । असोज २, ३ र ४ गते साँझ दीपावली गर्न सर्वसाधारणलाई आह्वान गरिने पनि बैठकले निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधान दिवस नेपालको प्रमुख राष्ट्रियताको पहिचान गर्ने विशेष दिन भएकोले यसलाई विशेषरुपमा मनाउन सर्वसाधारणलाई अनुरोधसमेत गर्नुभएको छ ।










