Home मुख्य समाचार मकवानपुरको बकैयामा आगलागी, नगद १५ लाखसहित २ करोड बराबरको क्षति

मकवानपुरको बकैयामा आगलागी, नगद १५ लाखसहित २ करोड बराबरको क्षति

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बकैया–५, गरगरेमा शुक्रबार बिहान एक किराना पसलमा आगलागी हुँदा नगद १५ लाख रुपैयाँसहित २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागीमा परी पसल सञ्चालक गम्भीर घाइते भएका छन् । स्थानीय लिलाराम जिम्बाको २ तल्ले पक्की घरमा रहेको किराना पसलमा बिहान ७ः४५ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान अनुसार, घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा उक्त दुर्घटना भएको उहाँले बताउनुभयो । पसल सञ्चालक जिम्बाले पेट्रोलको ड्रमबाट पेट्रोल खन्याउने क्रममा ड्रम पल्टिँदा आगो फैलिएको बताइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा ४५ वर्षीय लिलाराम जिम्बाको दुवै हात र खुट्टा जलेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा पछि थप उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको प्रवक्ता अर्यालको भनाई छ । उनको शरीरको अगाडिको भाग ४० प्रतिशत जलेको र अवस्था मध्यम रहेकोले थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट परिचालित प्रहरी टोली, हेटौँडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासमा २ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट जिम्बाको दुई तल्ले पक्की घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको नगद १५ लाख रुपैयाँ, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका सामान जलेर नष्ट भएको थियो ।

आगलागीबाट बा.प्र. ०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल र सामान किन्न आएका स्थानीय नारायण बहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल जलेको छ । आगलागीमा परेर एउटा कुकुरको बच्चाको समेत मृत्यु भएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Exit mobile version