अन्तरक्रियाको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : मानव बेचबिखनमा परी विदेश पुगेकाहरुले आफ्ना समस्याबारे वास्तविकता लुकाउँदा सर्वसाधारणमा बेचबिखनबारे वास्तविक जानकारी नपुगेको सरोकारवालाहरुले बताएका छन् । मानव बेचबिखन बिरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा बिहीबार हेटौंडामा आयोजित मानव बेचबिखनको वर्तमान अवस्था र न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो जानकारी दिएका हुन् ।

सरोकारवालाहरुले मानव बेचबिखनको प्रकृति परिवर्तन भई वर्तमान समयमा बैदेशिक रोजगारमा काम गर्न जानेहरु बेचबिखनको शिकार हुने गरेको बताएका छन् । यस्तै, भिजिट भिसामार्फत् पठाउने र विदेशमा भोग्ने समस्यालाई लुकाउने गरेकोले वास्तविकता बाहिर आउन नसकेको र अन्य सर्वसाधारणमा यस विषयमा अनविज्ञता रहने गरेको पनि सरोकारवालाहरुले जानकारी दिएका छन् । आफूलाई बेचबिखनमा पारेको तरिकाबारे केही पनि थाहा नदिने परिपाटीले गर्दा वैदेशिक रोजगारमा मानव बेचबिखनको संख्या बढिरहेको पनि उनीहरुले दाबी गरेका छन् ।

गैरसरकारी संस्था महासंघ मकवानपुर तथा दलित महिला संघ (फेडो) को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, गैरसरकारी संस्था महासंघ केन्द्रीय सचिव बुद्धशरण लामा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्मा, अधिवक्ता अप्सरा बस्नेत, दलित महिला संघ मकवानपुरका पदाधिकारी एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।