हेटौँडा : न्वागी पर्वको अवसरमा भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भदौ २२ गते आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको हो । बागमती प्रदेश सरकारको गत चैतमा बसेको मन्त्रिपरिषद बैठकले चेपाङ समुदायको न्वागी पर्वको बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार, बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचना बमोजिम उक्त बिदा दिने निर्णय गरिएको हो । चेपाङ समुदायको बाक्लो बसोबास रहेका उक्त जिल्लाहरुमा न्वागी पर्वको अवसरमा बिदा दिइएको उहाँले बताउनुभयो ।

न्वागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने प्रचलनसँग सम्बन्धित छ । चेपाङ समुदायमा नयाँ उब्जनी पितृहरुलाई नचढाई खाएमा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।