हेटौँडा : साइमन योञ्जन स्मृति रनिङ्गशिल्ड खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
गत वर्ष असोज १२ गते मकवानपुरको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा प्रतियोगिता हुने भएको छ । सिस्नेरीको पहिरोमा मकवानपुरगढीका योञ्जनसहित हेटौँडाका अनुपम घलान, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका विकल रेग्मी, प्रियान्स आचार्य र बाराका आदित्य बलम्पाकीको मृत्यु भएको थियो । प्रतियोगिता खुल्ला रुपमा हुने भएको छ । प्रतियोगिता फुटसलबाट सुरु गरेर अगामी दिनमा ठूलो मैदानसम्म पुर्याउने लक्ष्य रहेको प्रतियोगिताका संयोजक विक्रम योञ्जनले बताउनु भयो । प्रतियोगिताका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ दिने र अन्य निकायहरुले पनि सहयोग गर्ने संयोजक योञ्जनले जानकारी दिनु भयो ।
प्रतियोगिता असोज ९, १० र ११ गते हुनेछ । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने छ । प्रतियोगिताका विजेता टोलीले १ लाख नगद पुरस्कार पाउनेछ । त्यसैगरी उपविजेता टोलीले ६५ हजार नगद पुरस्कार पाउनेछ ।
