हेटौंडामा पछिल्लो समय प्रहरीले लागूऔषधसहित कारोबारीलाई पक्राउ गर्ने क्रमले तिब्रता पाएको छ । यसले लागूऔषधको समस्या जटिल बन्दै गएको अनुमान गर्न सकिन्छ । प्रहरीले सक्रियता बढाएको हो कि लागूऔषध कारोबार बढेको भन्ने यकिन नभए पनि पछिल्लो समय लागूऔषधसहित मानिस पक्राउ पर्ने क्रम बढेको हो । प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडाका विभिन्न क्षेत्रबाट लागूऔषध बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गर्दै आएको छ । विगतमा प्रहरीले सूचना पाए पनि सक्रियता नदेखाएको वा प्रहरीले सूचना नै नपाएको वा लागूऔषध कारोबार नै कम हुने गरेको के हो त्यो खोजको विषय बनेको छ ।

आइतबार बिहान प्रहरीले हेटौंडा–३, बसामाडीबाट लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डमा दुईवटा विद्युतीय सवारीबाट एक सय ३९ केजी गाँजासहित ३–३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मकवानपुरको राक्सिराङ, काभ्रेको पाँचखाल र दोलखाको सैलुङका युवाहरु छन् । यस्तै, हेटौंडा–११, थानाभ¥याङबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा शुक्रबार पक्राउ गरको भए पनि आइतबार प्रहरीले जानकारी दिएको हो । आइतबारै प्रहरीले हेटौंडा–७, नागस्वतीबाट लागूऔषध खैरो हेरोइन र ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान करिब २ बजे प्रहरीले २ सय १३ केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसार भइरहेको सूचनापछि परिचालित प्रहरी टोलीले हेटौंडा–३, च्यानडाँडा नजिकै जंगलबाट उक्त गाँजा बरामद गरेको हो । प्रहरी देखेपछि ७–८ जना गाँजा छोडेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषधसहित पक्राउ गरेकाहरु अधिकांश युवाहरु छन् । पछिल्ला तीन दिनमा पक्राउ परेकामध्ये २० वर्ष आसपासका युवाको संख्या बढी छ । नेपालमा मात्र होइन, विश्वमै लागूऔषधका अधिकांश कारोबारी तथा प्रयोगकर्ताहरु युवा नै छन् । विश्वका कूल युवा जनसंख्यामध्ये ५ प्रतिशत लागूऔषधको गलत प्रयोगका कारण समस्यामा परिरहेको तथ्यांक पाइन्छ । किशोरावस्था तथा युवा अवस्थाका अधिकांश मानिसहरु अभिभावकको नियन्त्रणबाहिर हुने र बेरोजगारी समस्याबाट गुज्रिने कारण उनीहरु लागूऔषधको कारोबार र सेवनमा संलग्न हुने गरेको पाइन्छ । नेपालमा लागूऔषध कारोबारमा संलग्नमध्ये करिब एक चौथाई २५ वर्षमुनिका हुने गरेको तथ्यांक पाइन्छ । निर्णय क्षमता र विचारका हिसाबले तरल अवस्थामा हुने किशोर र युवाहरुमा छिटो पैसा कमाउने लालसा अनि नशाको लतले लागूऔषधको दलदलमा फस्ने सम्भावना बढाएको छ ।

लागूऔषधको कारोबार र दुव्र्यसनमा संलग्न हुनु दण्डनीय अपराध हो । लागूऔषधकै कारण विभिन्न आपराधिक घटना बढाउने गरेको छ । यसले विभिन्न रोगको संक्रमण बढाउनुका साथै आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ । लागूऔषध एउटा गम्भीर र जटिल समस्या भए पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन । प्रहरीले नियमिति चेकजाँच र विशेष सूचनाको आधारमा लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्दै आए पनि लागूऔषधको जरा उखेल्न सकिरहेको छैन । लागूऔषध नियन्त्रणमा प्रहरीको तिब्रता देखिए पनि थप सक्रियता आवश्यक देखिन्छ । लागूऔषध समस्या निर्मूल पार्न सम्बद्ध सबै पक्ष गम्भीर बन्नुपर्छ ।