मुलुकको गाउँसहर जताततै सहयोगापेक्षी मानिस भेटिन्छन् । सहरबजारको सडकपेटीमा असहाय, अपाङ्ग एवम् मानसिक सन्तुलन गुमेका मानिसहरु सबैतिर पाइन्छ । मागेर गुजारा गर्नेदेखि घरबासको कुनै ठेगाना नभएका थुप्रै सहयोगापेक्षी मानवको व्यवस्थापन गर्नु जटिल काम हो । खुला सीमा रहेको छिमेकी देश भारतबाट समेत यस्ता सहयोगापेक्षी मानिसहरु आउने गरेका कारण यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । तीनै तहको सरकारले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनमा कुनै ठोस काम गर्न नसकेको अवस्थामा मानवसेवा आश्रमले मानवताको अभियान सञ्चालन गरेर सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउने अठोटका साथ काम गरिरहेको छ । आश्रमले देशका धेरै सहरमा आश्रयस्थल बनाएर असहाय र बेवारिस भेटिएका मानिसहरुलाई सहारा दिँदै आएको छ ।
विसं २०६९ सालमा हेटौंडाबाट सुरुवात भएको मानवसेवा आश्रमले हालसम्म देशभरबाट १२ हजार जनाको उद्दार गरेको छ । देशका २१ जिल्लामा प्रत्यक्ष सेवा दिइरहेको आश्रममा करिब २ हजारले आश्रय लिइरहेका छन् । २०७५ फागुन ४ गते मकवानपुर जिल्लालाई सडक मानवमुक्त घोषणा गरेको आश्रमले २०८२ (यसै वर्ष)सम्म देशलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने लक्ष्य राखेको छ । आश्रमको १३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आश्रमको अभियानलाई साथ दिँदै मानवताको प्रदेश घोषणा गर्ने बताएका छन् । प्रदेशका १३ वटै जिल्लामा सडक तथा सहयोगापेक्षी मानवहरुको व्यवस्थापन गरेर सरकारले ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताएका हुन् । उनले मानवसेवा आश्रमको सेवालाई प्रदेशका सबै जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताए । एउटा व्यक्तिले सुरुवात गरेको अभियान सार्थक बन्दै गइरहेको भन्दै मुख्यमन्त्री बानियाँले सरकारले चाहे धेरै गर्न सक्ने दावी गरे ।
मानवसेवा आश्रमले हालसम्म १२ हजारभन्दा धेरै सहयोगापेक्षीको सडकबाट उद्दार गरेको छ । आश्रमको सेवा देशभरका २१ जिल्लामा विस्तार भइसकेको छ । हाल आश्रममा करिब २ हजार जनाले आश्रय लिइरहेका छन् । करिब ५ हजार जनालाई पारिवारिक पुनर्मिलन र एक हजार जनालाई सामुदायिक पुनर्मिलन गराइएको छ । आश्रमले उद्दार गरेका एक हजार ५ सयभन्दा बढीको आश्रममै मृत्यु भएको छ । २०७५ फागुनमा मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरेर मानवसेवा आश्रमले यसै वर्ष (२०८२) भित्र देशलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाएर कोही पनि खुला आकाशमुनि वा सडकका पेटीमा बस्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य लिएको छ ।
परोपकारी मन भएका आम नेपालीको स्वेच्छिक सहयोगबाट चलिरहेको आश्रमको अभियानलाई पछिल्लो समय तीनै तहको सरकारले पनि सहयोग गर्दै आएको छ । व्यक्तिगत प्रयासबाटै देशको विकराल समस्या समाधानका मानवसेवा आश्रमको यो अभियान प्रशंसायोग्य छ । कुनै पनि मानव सडकमा वेवारिस अवस्थामा भेटिनु देश र समाजको लज्जाको विषय हो । जुनसुकै कारणले मानिस सडकमा आइपुग्नु दुःखद् हो । सडकमा आइपुगेका सहयोगापेक्षी मानव निर्मूल पार्नु सहज पक्कै छैन । तर, मानवसेवा आश्रमको अभियानले यसलाई न्यूनीकरण गरिरहेको सन्दर्भमा तीनै तहको सरकारले साथ र सहयोग गरेमा असम्भव नहोला । आश्रमले यसै वर्षभित्र सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरी मानवता प्रवद्र्धन गर्ने लक्ष्यले सार्थकता पाओस् ।











