हेटौँडा : बागमती प्रदेश सरकारले ६ जना प्रदेश सचिवहरुको पदस्थापन तथा सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गर्ने निर्णय भएको छ भने प्रदेशमा कार्यरत ३ सचिवको सरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकले हालै सरुवा भई आएका ईश्वरचन्द्र मरहठ्ठालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकेर पस्थापन गर्ने निर्णय भएको छ भने इन्द्रदेव भट्टलाई ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय र बलराम ढकाललाई श्रम तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।
यसैगरी, प्रदेशमा कार्यरत झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, वीरेन्द्रदेव भारतीलाई युवा तथा खेलकुद मन्त्रालय र पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ । यसअघि अधिकारी युवा तथा खेलकुद मन्त्रालय, भारती श्रम रोजगार तथा यातायात मन्त्रालय र दर्जी सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
बैठकले प्रदेश सरकारले करार र अस्थायी कर्मचारीहरुको महँगी भत्तामा उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश आर्थिक ऐनको व्यवस्था अनुसार प्रदेश सरकार मातहत रहेका करारका कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।











