हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामालाई नियुक्त गर्नुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति लामालाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।
प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुनुभएका लामाले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्नुहुनेछ । २०३६ सालबाट कांग्रेसको राजनीतिक यात्रा सुरु गर्नुभएका लामा २०४२ को सत्याग्रह, २०४६ र २०६२÷०६३ को जनआन्दोलनमा हिरासत समेत बस्नुभएको थियो । २०४८ सालबाट हेटौँडा–४ को सचिवबाट आधिकारिक रुपमा कांग्रेसको राजनीतिमा होमिनुभएका लामा क्षेत्रीय सभापति हुँदै २०५२ सालमा कांग्रेस मकवानपुरको जिल्ला सदस्य हुनुभएको थियो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा हेटौँडा–४ को अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएका उहाँ २०५७ सालमा नेपाली कांग्रेस मकवानपुरको सहसचिव, २०६२ सालमा महाधिवेशन समिति सदस्य बन्नुभएको थियो । सो पश्चात निरन्तर रुपमा महासमिति सदस्य रहनुभएका लामा २०६३ सालमा कांग्रेस मकवानपुरको कोषध्यक्ष हुनुभयो । २०७२ सालमा कांग्रेस मकवानपुरको सभापति इन्द्रबहादुर बानियाँ हुनुहुँदा लामा जिल्ला सचिवको भूमिकामा रहनुभएको थियो । उहाँ २०७८ को अधिवेशनबाट कांग्रेस मकवानपुरको सभापति बन्नु भएको हो ।
