
हेटौँडा : नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले मकवानपुरको बाघझोरा खहरेबाट भएको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद बर्तौलाले सोमबार संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मालाई भेटेर त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–१ स्थित हेटौंडा–भैसे सडक खण्डमा पर्ने बाघझोरा खहरेको समस्या हल गर्न ध्यानाकर्षण गराउनुभएको हो ।
बाघझोराको ग्राभेलसहितको भेल बाढीका कारण बारम्बार सडक अवरोध हुँदा नागरिकलाई समस्या भएको उल्लेख गर्नुहुँदै बर्तौलाले ध्यानाकर्षण गराउनुभएको हो । उहाँले बाघझोराको समस्याको स्थायी समाधानका लागि ओभर ब्रिज (ओभरपास) वा अण्डरपास निर्माण गर्न माग गर्नुभएको छ । बाघझोरा खहरे बाढीका कारण घण्टौँसम्म राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रुले सास्ती भोग्नुपरेको भन्दै प्राविधिक रुपमा उपयुक्त संरचना निर्माण गर्न सांसद बर्तौलाले माग गर्नुभएको हो । उहाँले उक्त संरचनाको तत्काल अध्ययन सुरु गरी निर्माण प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको हो ।
‘यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजपथ भएर देशका विभिन्न भागमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरूको साझा समस्या हो । सामान्य वर्षा हुँदा समेत खहरे बाढीले घण्टौँ सडक बन्द हुने अवस्था रहेको छ । सो समस्याको दीर्घकालीन रुपमा अन्त्य हुनुपर्छ । त्यसका लागि अण्डरपास वा ओभर ब्रिज निर्माण गर्नुपर्छ । मन्त्रालयले तत्काल सो विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउन आग्रह गर्दछु’, सांसद बर्तौलाले भन्नुभयो । योजना कार्यान्वयनको प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले आगामी आर्थिक वर्षसम्ममा समस्या समाधान हुने गरी पहल गरिएको बर्तौलाको भनाइ छ ।
सांसद बर्तौलाको आग्रहपछि मन्त्री दाहालले बाघझोरा खोलाको समस्यालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । समस्या समाधान गर्न सरकार गम्भीर रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री दाहालले उक्त स्थानको अध्ययन प्रक्रिया तत्काल अगाडि बढाउन सचिव शर्मालाई निर्देशन दिनुभएको छ । केही दिनअघि मात्रै बाघझोरा खहरेको भेल बाढीका कारण सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु सडकमै अलपत्र परेका थिए ।









