हेटौँडा : मकवानपुर जिल्लाको मकवानपुरगढीमा भारी वर्षासँगै आएको बाढीमा परी एकजना बेपत्ता भएका छन् भने एकजनाको उद्दार गरिएको छ । मकवानपुरगढी गाउँपालिका–२, तल्लो छापमा कार्की खोलाले बगाउँदा स्थानीय २५ वर्षीय विनोद बम्जन बेपत्ता भएका छन् । मकवानपुरगढी–७, सुकौरास्थित पसलबाट घर जाने क्रममा शुक्रबार अपराह्न बम्जनलाई खोलाले बगाएको हो ।
खोलामा आवतजावत गर्न ह्युमपाइप राखिएको भए पनि एक्कासी खोलामा पानीको बहाव बढ्दा बम्जनलाई बगाएको प्रहरीले जानकारी दिएको छ । बम्जनलाई बगाएको खबर पाएपछि इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरगढी गाउँपालिका–१, फूलबारीस्थित तमुनी खोला तर्ने क्रममा खोलाले बगाएर घाइते एक जनालाई प्रहरीले उद्दार गरेको छ । शुक्रबार साँझ खोलाले बगाएर घाइते भएका स्थानीय ४४ वर्षीय विजय सिंह लामा भोम्जनलाई प्रहरीले उद्दार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको हो । काठमाडौंबाट फूलबारी घरमा आइरहेका भोम्जनलाई तमुनी खहरे खोला तर्ने क्रममा अचानक पानीको बहाव बढेर बगाएको थियो । खोलामा बग्दै करिब एक सय मिटर तल पुुगेर उनी घाइते भएका थिए । खोला छेउमा घाइते अवस्थामा प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरी टोलीले भोम्जनलाई फेला पारेको प्रहरीले जनाएको छ ।










