हेटौँडा : उद्योग संघ मकवानपुरले आँखा जाँच कार्यक्रम आयोजना गरेको छ । उद्योग संघ मकवानपुरको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार हेटौँडा औद्योगिक क्षेत्रमै आयोजित कार्यक्रममा उद्योगका कामदार, कर्मचारी गरी १ सय १६ जनाको आँखा जाँच गरिएको थियो ।
जाँच गरिएकाहरु मध्ये १ जनाको आँखामा मोतिविन्दु देखिएको र अन्य १० जनाको आँखाको थप उपचारका लागि हेटौँडा सामुदायिक आँखा अस्पतालमा जानका लागि सल्लाह दिइएको छ । मोतिविन्दु पहिचान भएकालाई शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको छ । कार्यक्रममा आँखा जाँच पश्चात आवश्यक औषधिहरु पनि निशुल्क वितरण गरिएको थियो ।
हेटौँडा ईन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौँडा फेब्रिकेशन, सामुराई स्टील, केपीजे लगायतका उद्योगका कामदार कर्मचारीहरुको आँखा परीक्षण गरिएको थियो । हेटौँडा सामुदायिक आँखा अस्पतालले नियमित रुपमा सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने विरामीहरुका लागि विभिन्नस्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । विद्यालयमा पुगेर विद्यार्थीको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार, कर्मचारीहरुको आँखा जाँच गर्दै आएको छ ।











