हेटौँडा : नक्कली सुन देखाई ठगीको प्रयास गर्ने ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजेको समयमा विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले उनीहरुलाई हेटौँडा–११, सुकुम्बासीटोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा–११, सुकुम्बासी टोलको त्रिवेणीचोकबाट मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्य बहादुर नेगी, बकैया–७ का ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–१, भाल्चेका ४८ वर्षीय नाम्केल तामाङलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । किशोर लामाले भाडामा लिएको कोठामा खोजतलास गर्ने क्रममा प्रहरीले १० ग्राम तौल भएको ५० थान पहेँलो धातु बरामद गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले सुनचाँदी व्यवसायी संघलाई पत्राचार गरी परीक्षण गराउँदा बरामद भएका ५० थान मध्ये एक थान पहेँलो धातु मात्रै सुन भएको र ४९ थान सुन नभई अन्य धातु भएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई ठगी उद्योग कसुरमा मुद्दामा मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











