स्काउट तालिममा सहभागी शिक्षकहरु ।

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका शिक्षकहरुलाई स्काउटसम्बन्धी आधारभूत तालिम सञ्चालन भइरहेको छ । बुधबारबाट सुरु भएको तालिम भदौ २ गते सोमबारसम्म सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा अधिकृत धर्मानन्द पन्तले जानकारी दिनुभयो ।

तालिममा गाउँपालिकाभित्र रहेका छ वटा मावि र एउटा निमाविबाट २० जना शिक्षकहरुको सहभागिता रहेको छ । पालिकाभित्र रहेका ६ विद्यालयका तीन–तीन जना र एउटाबाट दुई जना शिक्षक तालिममा सहभागी भएको उहाँको भनाइ छ । तालिमको उद्घाटन पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा भएको थियो ।

तालिममा सहभागी शिक्षकहरुले तालिमपश्चात् विद्यालयमा स्काउट समिति गठन गर्ने अधिकृत पन्तले जानकारी दिनुभयो । गाउँपालिकाभित्र ६ वटा माध्यमिक र १२ वटा आधारभूत विद्यालय रहेका छन् । ती विद्यालयमा २ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो ।