हेटौंडा : बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, काभ्रेपलाञ्चोक, रामेछाप र धादिङ जिल्लामा शनिबार र आइतबार ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–८, ढाईटारमा ग्रेन्डर मेसिनले काट्दा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जिल्लाको जोसपुर गाउँपालिका–५ का ४६ वर्षीय दीपक चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
गत असार १८ गते साँझ ५ बजेर ४५ मिनेटको समयमा ढाईटारमा कबर्डहलको ट्रसमा वेल्डिङ गर्ने क्रममा ग्रेन्डर मेसिनले दाहिने हातको नाडीमा काट्दा १५ फिट माथिबाट खसेर उनी घाइते भएका थिए । घाइते दीपकको धुलिखेल अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लगिएको थियो । उपचारको क्रममा दीपकको आइतबार बिहान २ बजेर ८ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११, भोजाडमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला घर भई हाल भोजाडमा डेरा गरी बस्ने ४५ वर्षीय रुदल सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।
सहनी आइतबार राति १० बजेर ३० मिनेटको समयमा खाना खाएर मोबाइल चलाउँदै गरेको अवस्थामा एक्कासी बिरामी भएका थिए । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा राति ११ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनकै रत्ननगर नगरपालिका–५, झुवानीमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान १ बजेको समयमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको ग प्र ०३–०३७ प ८९५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक ४५ वर्षीय राजु उदास गम्भिर घाइते भएका थिए । घाइते राजुलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान २ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
रामेछापको मन्थली नगरपालिका–६, कुनौरीस्थित पुष्पलाल सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । आइतबार बिहान ५ बजेको समयमा मन्थलीबाट हेटौंडातर्फ आउँदै गरेको बा १३ च ३९३४ नम्बरको स्कारपियो सडकबाट तीन सय मिटर तल तामाकोशी नदीमा खस्दा ४२ वर्षीया राधा कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्र्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मन्थली नगरपालिका–१, बसपार्क बस्ने ५० वर्षीय चालक उत्तम चौहान घाइते भएका छन् । प्रारम्भिक उपचारका लागि उनलाई सामुदायिक अस्पताल मन्थली पु¥याइएको थियो । अनुहारमा सामान्य चोट लागेको उनको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ । कार्की सडकदेखि करिब २ सय ८० मिटर तल अड्किएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल पठाइएको छ । चालक चौहानको धुलिखेल अस्पताल र ट्रमा सेन्टर काठमाडौंमा उपचारपश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
रामेछापकै खाडाँदेवी गाउँपालिका–४, पुचिघाटमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा मध्यपहाडी लोकमार्गमा बेनीबाट सित्खातर्फ जाँदै गरेको ना ६ त ९५९१ नम्बरको खालि ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीले जानएको छ ।
दुर्घटनामा ट्याक्टर चालक २५ वर्षीय दिनेश माझीको घटनास्थलमा नै मृत्यु भएको थियो भने १५ वर्षीय विवेक माझी घाइते भएका थिए । घाइते विवेकको रामेछापको मन्थलीमा रहेको दिलश्री मेडिकलमा उपचारपश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
धादिङको धुनिवेशी नगरपालिका–६, आकाशभैरव पेट्रोलपम्प नजिकै अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीदेवीस्थान बस्ने ५८ वर्षीय सीताराम बानियाँ रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिउँसो ४ बजेर १० मिनेटको समयमा बानियाँ अचेत अवस्थामा फेला परेका थिए । बानियाँको उपचारको क्रममा साँझ ५ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
