नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता हुँदै प्रदेश सरकारको मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियामाथि संकट कायमै छ । कांग्रेसकै बहादुर सिंह लामालाई हटाएर मुख्यमन्त्री बनेका बानियाँलाई विश्वासको मत लिन र सरकारलाई पूर्णता दिन लामा पक्षसँग भएको सहमति संकट बनेको छ । पूर्वमुख्यमन्त्री लामाले सरकार टिकाउने प्रयासस्वरुप नियुक्त गरे पनि सपथग्रहण गर्न नपाएका कांग्रेसका तीन जना मन्त्रीलाई सरकारमा सहभागी गराउने सहमति बानियाँले लामासँग गरेका थिए । लामालाई मुख्यमन्त्रीबाट राजीनामा गराउन बानियाँले गरेको उक्त सहमतिअनुसार तीन जना मन्त्रीको नियुक्ति र सपथग्रहणलाई कांग्रेसको बहादुर सिंह लामा पक्षको बटमलाइन छ । उक्त सहमति कार्यान्वयन नभए लामा पक्षका सांसदहरुले सामूहिक राजीनामा दिनेसम्मको भनाइ सञ्चार माध्यममा आएकाले बानियाँलाई विश्वासको मत लिन सकस पर्ने देखिएको छ ।
बानियाँले पूर्वमुख्यमन्त्री लामाको क्याबिनेटकै चार जना सदस्यलाई आफ्नो पक्षमा लिएर लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरेका थिए । लामालाई दलको नेताका साथै मुख्यमन्त्रीबाट समेत हटाएर आफू मुख्यमन्त्री बन्ने योजनाअनुसार बानियाँको पक्षमा आएको पूर्वमन्त्री तथा अन्य सांसदमध्ये धेरैको आकांक्षा मन्त्री बन्ने छ । प्रदेशमा रहेका १४ मन्त्रालयमध्ये भागबण्डामा एमालेले ६ र कांग्रेसले ८ मन्त्रालय पाएको छ । मुख्यमन्त्री भएकै दिन बानियाँले एमालेका ६ र कांग्रेसका दुई मन्त्री नियुक्त गरी सपथग्रहण गराइएको थियो । कांग्रेसका भागमा परेको बाँकी ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बानियाँलाई सहज देखिएको छैन । लामाविरुद्ध अविश्वासको प्रस्ताव पारित गराउन कांग्रेसको झण्डै आधा दर्जन शीर्ष नेतृत्वको गुटका सांसदलाई आफ्नो पक्षमा उभ्याएका बानियाँले सबै नेताको टिमको एक–एक जना सांसदलाई मन्त्री बनाउने हो भने बहादुर सिंह लामासँग भएको सहमति कार्यान्वयन गर्न सक्ने अवस्था छैन ।
मुख्यमन्त्री बानियाँले आज (साउन २७) गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ । विश्वासको मत दिन अनिवार्य उपस्थित हुन र बानियाँको पक्षमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको भए पनि पूर्वसहमतिअनुसार सरकारमा ३ मन्त्री नियुक्त नगरे विश्वासको मत नदिने लामा पक्षको अडानले मुख्यमन्त्री बानियाँमाथि पहिलो संकट बनेको छ । सत्ता साझेदार नेकपा एमालेले पनि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा बानियाँलाई ५६ जना प्रदेशसभा सदस्यबाट विश्वासको मत चाहिन्छ । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना प्रदेशसभा सदस्यमध्ये लामाको पक्षमा १४ जना सदस्य हुँदा उनीहरु सबैले विश्वासको मत नदिने हो भने बानियाँ मुख्यमन्त्री नरहने अवस्था बन्नेछ ।
पार्टीभित्रकै आन्तरिक सन्तुलन मिलाउन कठिन भइरहेको समयमा विश्वासको मत लिने सन्दर्भमा बानियाँमाथि थप संकट देखिएको छ । आफूसँग भएको सहमति कार्यान्वयन नभए विश्वासको मत नदिने वा संयुक्त राजीनामा दिने रणनीति बनाएको लामा पक्षका कारण बानियाँको सरकारमाथि संकट देखिएको हो । सत्ता साझेदार दल एमालेबाट बानियाँलाई विश्वासको मत आउने पक्काजस्तै भए पनि आफ्नै दलका कारण उनी संकटमा परेका हुन् । आफूलाई अपमानित तरिकाबाट हटाएको भन्दै पार्टीं नेतृत्वप्रति निराश बनेका लामा पक्षका सांसदले ह्वीप नमानेर प्रदेशसभाको फ्लोर क्रस गर्ने सम्भावना अन्त्य नहुँदासम्म बानियाँमाथिको संकट कायमै रहने देखिन्छ ।
