हेटौँडा : ‘सीप सिकौं, भविष्य बनाऔं’ भन्दै रोटरी क्लब अफ हेटौँडाले विद्यार्थीका लागि निशुल्क सीपमूलक तालिम सञ्चालन गरेको छ । हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा आइतबारदेखि एक साताको तालिममा विद्यार्थीले ईलेक्ट्रिसियन, व्युटिसियन, वारिष्टा र हेयर कटिङ सिक्नेछन् ।
रोटरी क्लब अफ हेटौँडाको आयोजना तथा वडा कार्यालयको सहकार्यमा आयोजना भएको तालिममा सहभागी विद्यार्थीले व्यावहारिक जीवनमा उपयोगी सीपहरू सिक्ने अवसर प्राप्त गरेको बताइएको छ । वर्षे विदाको समय सदुपयोग गर्ने गरी तालिमको आयोजना गरिएको हो । प्रथम त्रैमासिक परीक्षा सकिएपछि साउन २० गतेदेखि साउन मसान्तसम्मका लागि वर्षे विदा दिइएको छ । विदाको समय सदुपयोग पनि हुने र विद्यार्थीमा सीप विकास समेत हुने गरी तालिमको आयोजना गरिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।
भविष्यमा विद्यार्थीलाई रोजगारी वा उद्यमशीलतामा अग्रसर हुन सहयोग पुग्ने अध्यक्ष प्रधानको भनाइ छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले तालिमको उद्घाटन गर्नुभयो । तालिममा एक सय विद्यार्थीको सहभागिता रहने बताइएको छ । तालिम उद्घाटन कार्यक्रममा रोटरी क्लब हेटौँडाका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु, शिक्षक शिक्षिकाहरु, अविभावकहरु र विभिन्न विधामा तालिम दिने प्रशिक्षकहरुको उलेख्य उपस्थिति रहेको थियो ।
