हेटौँडा : बागमती प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ । करिव ५ वर्षको अवधिमा प्रदेशसभाको प्रिफ्यावको भवन निर्माण सम्पन्न भएको हो । १८ महिनामा सम्पन्न गर्नुपर्ने उक्त भवन निर्माण व्यवसायीको ढिलाईका कारण निर्माण सम्पन्न हुन ५ वर्ष लागेको हो । २ चरणमा ठेक्का लगाएर उक्त भवनको काम सम्पन्न गरिएको हो । निर्माण सम्पन्न भएसँगै उक्त भवन साउन २७ गतेबाट सञ्चालनमा ल्याइने भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले साउन २७ गते बस्ने प्रदेशसभाको बैठक नयाँ भवनमा सञ्चालन हुने जानकारी दिनुभयो । भवनको भित्री सम्पूर्ण काम सकिएको र माइक जडान र जेनेरेटर जडानका काम चलिरहेकोले २७ गतेबाट चल्ने बैठक नयाँ भवनबाटै सञ्चालन गर्ने तयारी भएको पौडेलले जानकारी दिनुभयो । ‘सभा हलको भित्री सम्पूर्ण काम सकिएको छ । खाली माइक र जेनेरेटरको जडानलाई अन्तिमरुप दिन बाँकी छ । यो पनि सोमबारसम्म सकिन्छ,’ पौडेलले भन्नुभयो, ‘साउन २७ गते बस्ने प्रदेश सभा बैठक नयाँ भवनबाटै चल्छ ।’

१० मंसिर २०७७ मा शिलान्यास गरिएको २५० जना अट्ने सो सभाहल इपीएस स्याण्डबीच प्रविधिबाट निर्माण हुने गरी शहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो । अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भने पनि ५ वर्षमा तयार पारेको हो । सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ बैशाख २१ गतेभित्र सभा हल बनाइ सक्नुपर्ने थियो । तर, कम्पनीले कोरोना महामारी, सामान नपाएको भन्दै काममा आनाकानी गर्दा निर्माण ढिला भएको हो ।
सभाहल निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय हेटौँडाले ६ करोड १० लाख रुपैयाँ लागत अनुमान गरेको थियो भने घटाघट विधि अनुसार ४ करोड ९३ लाख रुपैयाँमा निर्माण गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्यमा ढिलाई हुँदा सो भवनको लागि ५ करोड २९ लाख रुपैयाँ खर्च भएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर सुवोध अधिकारीले जानकारी दिनुभयो ।
उक्त भवनको पहिलो चरणमा संरचनाको काम सम्पन्न भएपनि फर्निचर, फर्निसिङ लगायतको काम भने भएको थिएन । उक्त कार्यका लागि कार्यालय पुनः ४ करोड ९६ लाख रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । ३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त कार्यको काम सम्पन्न भई संचालनको तयारी गरिएको हो । उक्त भवनको फर्निचर, फर्निसिङमा ३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । तत्कालनि समयमा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो । हालसम्म सोही भवनबाट प्रदेशसभाको काम कारवाही सञ्चालन भइरहेको छ ।