हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या ह्वात्तै बढेपछि सोमबार राती १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा पालना गराउन स्थानीय प्रशासनले तीनवटै सुरक्षा निकायलाई परिचालन गरेको छ ।

आइतबार एकैदिन हेटौंडा उपमहानगरका २० सहित मकवानपुर जिल्लामा २३ जना कोरोना सङ्क्रमित पहिचान भएको थियो । सङ्क्रमितको संख्या ह्वात्तै बढेसँगै जिल्ला सुरक्षा समितिले सोमबार रातीदेखि साउन ३२ गते राती १२ बजेसम्मका लागि हेटौंडा उपमहानगरक्षेत्रसहित मनहरी गाउँपालिकामा पूर्वपश्चिम राजमार्ग क्षेत्रको दायाँबायाँ ५५ सय मिटरक्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।
नेपाली सेनाको पुरानो गोरख गणबाट नेपाली सेना परिचालत गरिएको छ भने सशस्त्र प्रहरी बलको १४ नम्बर गण तथा नम्बर २३ गुल्म हेटौंडा औद्योगिक क्षेत्रका सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले स्थानीय प्रशासन ऐनअन्तर्गत निषेधाज्ञा लागू गर्दै सेना परिचालन गर्ने निर्णय गरिएको बताउनुभएको छ ।
निषेधाज्ञा पालना गराउन पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने हेटौंडा उपमहानगरवासी पनि सतर्कता अपनाएर बसेका छन् । सुरक्षामा खटिएका प्रहरीले नागरिकको सतर्कता बढेको र सर्वसाधारणको चहलपहल कम रहेको उल्लेख गरेको छ ।