हेटौँडा : मकवानपुरगढी गाउँपालिकाबाट यस वर्ष कक्षा १२ को परीक्षामा ६३ जना (५८.८७ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । गत वैशाखमा सञ्चालन भएको परीक्षाको सोमबार नतिजा सार्वजनिक गरिएको थियो । पालिकाभित्र रहेको पाँचवटा विद्यालयबाट १०७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ६३ विद्यार्थी ग्रेडेड भएका छन् भने ४४ जना नन–ग्रेडेड भएका छन् ।
५ वटा विद्यालयका ३७ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् भने सात जनाले सहभागिता जनाउन नपाउने भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिका ३ नम्बरमा रहेको भानु माध्यमिक विद्यालयबाट यस वर्ष १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने १५ जना (८८.२४ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । नन–ग्रेडेड भएका एकजनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् भने एकजना सहभागी जनाउन नपाउने भएका छन् ।
यस्तै वंशगोपाल माविबाट १३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए १० जना (७६.४२ प्रतिशत) ग्रेडेड भएका छन् । नन–ग्रेडेड भएका तीनैजना विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागि आवेदन दिन पाउनेछन् । शारदा माविबाट ३४ जना सहभागी भएका थिए भने १७ जना (५०) प्रतिशत ग्रेडेड भएका छन् । ग्रेडवृद्धि परीक्षाका लागि १५ जना विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् भने दुई जनाले नपाउने भएका छन् ।
चण्डिका माविबाट २८ जना परीक्षामा सहभागी भएकोमा १३ जना (४६.४२ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । ग्रेडवृद्धि परीक्षाका लागि १२ जनाले सहभागिता जनाउन पाउनेछन् भने तीनजनाले नपाउने भएका छन् । यस्तै जनता माविबाट १५ जना सहभागी भएका थिए भने १० जना (५३.३३ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । ग्रेडवृद्धि परीक्षामा ६ जना सहभागी हुन पाउनेछन् भने एकजना नपाउने भएका छन् ।
यस्तै मकवानपुरको थाहा नगरपालिकाबाट १२ कक्षाको परीक्षामा १८२ जना (६६.१६) प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । पालिका भित्र रहेका ६ वटा माध्यमिक विद्यालयबाट २ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने १ सय ८२ जना मात्रै ग्रेडेड भएको थाहा नगरका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले जानकारी दिनुभयो ।
पालिका भित्र रहेको प्रविधिक विषय मात्र पठनपाठन हुने थाहा–७ मा रहेको सुन्दरी माविको शून्य नतिजा ल्याएको छ । विद्यालयबाट ४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस्तै थाहा–३ मा रहेको जनकल्याण माविमा प्राविधिकतर्फ शतप्रतिशत नतिजा ल्याएको छ भने साधारणतर्फ ५९.७० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । साधारणतर्फ १३४ जनाले परीक्षा दिएका थिए भने ८० जना विद्यार्थी ग्रेडेड हुँदा ५४ जना नन–ग्रेडेड भएका छन् । प्राविधिकतर्फ ८ जनाले परीक्षा दिएका थिए भने सबै ग्रेडेड भएका छन् ।
यस्तै थाहा–९ मा रहेको बज्रबाराही माविमा ८५.७१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ३५ जना विद्यार्थीले परीक्षा दिएका थिए भने ३० जना विद्यार्थी ग्रेडेड हुँदा ५ जना नन–ग्रेडेड भएका छन् । थाहा–९ मा रहेको स्वच्छन्दभैरव माविका ६६.६७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । २१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने १४ जना ग्रेडेड भएका छन् भने ७ जना ननग्रेडेड भएका छन् । थाहा–१० मा रहेको नाटेश्वर माविका ९३.३३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा १५ जना विद्यार्थी सहभागी भएका थिए भने १४ जना विद्यार्थी ग्रेडेड भएका छन् भने एक जना नन–ग्रेडेड भएका छन् । थाहा–११ मा रहेको बागेश्वरी माविका ६३.१६ प्रतिशत ग्रेडेड भएका छन् । परीक्षामा ५७ जना विद्यार्थी सहभागी भएका थिए भने ३६ जना ग्रेडेड र २१ जना नन–ग्रेडेड भएका छन् ।











