हेटौँडा : बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) मार्फत ३ वटा निर्णयहरु गर्नुभएको छ । उहाँले जिआइओएमएस मार्फत् बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गर्नुभएको हो ।
स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो । उक्त प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले व्यक्त गर्नुभएको छ । यस्तै स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जिपिएस’ प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ ।
यस्तै प्रदेशभर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्ने पनि गरिएको छ । उक्त निर्णयहरु डिजिटल स्वास्थ्य क्षेत्र रुपान्तरणको महत्वपूर्ण कदम हुने मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । थापा यसअघि २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो भने मंगलबार मात्र गठन भएको इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्री मण्डलमा पुनः स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको हो ।
