हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा लाने निर्णय गर्नुभएको छ । मंगलबार पदभार ग्रहण लगत्तै मुख्यमन्त्री बानियाँले गत असार २३ गतेको प्रदेशसभा बैठकले पारित गरेको संकल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा लाने निर्णय गर्नुभएको हो ।
मुख्य गरेर आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र बजेट प्रणालीलाई जनमुखी बनाउने निर्णय मुख्यमन्त्री बानियाँले आफ्नो पहिलो निर्णयको रुपमा गरिएको प्रमुख सचिव भुपाल बरालले जानकारी दिनुभयो । उक्त निर्णय अनुसार प्रदेशमा आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने उद्देश्य रहेको मुख्यमन्त्री बानियाँले बताउनुभयो । सरकारले अनावश्यक र फजुल खर्चहरु कटौति गर्ने र सरकारी कोषको दुरुपयोग हुन नदिने निर्णय गरेको उहाँको भनाई छ । सरकारको कामकारबाही पारदर्शी, जवाफदेही र भ्रष्ट्राचारमुक्त बनाउने तथा नियम–कानुनको पालना गर्दै जनताप्रति उत्तरदायी भएर शासन सञ्चालन गर्ने सरकारको निश्कर्ष रहेको मुख्यमन्त्री बानियाँले दावी गर्नुभएको छ ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन छिटो, छरितो र सहज बनाउने, जनताले सरकारी सेवा लिनका लागि झन्झट बेहोर्नु नपर्ने र समयमै काम हुने सुनिश्चित गर्ने, बजेट प्रणालीलाई जनमुखी बनाउने निर्णय उक्त संकल्प प्रसतावमा रहेको उहाँले बताउनुभयो । सरकारले बनाउने वार्षिक बजेट ठूलाबडा वा पहुँचवालाका लागि नभई आम जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर बनाउने, विकासका योजना र कार्यक्रमहरुले सिधै जनताको जीवनस्तरमा सुधार ल्याउने कुरालाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
