Home अन्तरवार्ता मन्त्रालयको संख्या बढ्दैन : मुख्यमन्त्री बानियाँ

मन्त्रालयको संख्या बढ्दैन : मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार नागरिकप्रति उत्तरदायी भएर अघि बढ्ने बताउनुभएको छ । उहाँले नागरिकको आवश्यकता र विकासका काममा जिम्मेवार जवाफदेहीताका साथ प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्री पदको सपथ ग्रहणपछि पदभार ग्रहण गर्नुहुँदै बानियाँले सरकारले सबैलाई समेटेर समृद्ध बागमती निर्माणमा अघि बढ्ने बताउनुभयो । प्रदेश सरकार र संरचना माथि उठेका चुनौतिहरु सामना गर्दै व्यवस्थापनको दिशामा सरकार अघि बढ्ने उहाँको भनाई छ । प्रदेशमा रहेका मन्त्रालयको संख्या बढाउनेतर्फ सरकार नरहेको र भएकै मन्त्रालयलाई व्यवस्थापन गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री बानियाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

समाज : मुख्यमन्त्री नियुक्त हुनुभएर सपथ ग्रहणपछि पदभार पनि ग्रहण गर्दै हुनुहुन्छ । अब कसरी अगाडि बढ्नुहुन्छ ? दलभित्र एक तरिकाको गुटगत समस्या पनि देखियो । त्यसलाई व्यवस्थापन गर्न तपाईंको भूमिका कस्तो हुन्छ ?
बानियाँ
: अब यो दलमाथि जुन किसिमको समस्या आएको भन्नुहुन्छ, दलीय व्यवस्थामा दलमाथि वितृष्णा आएको होइन । दलीय व्यवस्था नमान्नेहरुले वितृष्णा फैलाएको भन्ने मेरो बुझाइ छ । त्यही बुझाई तपाईंहरूले बुझिदिनुभयो भने राम्रो हुन्छ जस्तो लाग्छ । दलको भूमिकालाई सशक्त र बलियो बनाउने मेरो जिम्मेवारी हो । फरक विचार र दृष्टिकोण राख्ने साथीहरु बीच छलफल गरेर अघि बढ्छौं । विपक्षी दललाई मिलाउने कांग्रेस आफ्नो दलका साथीहरुसँग विवाद बोकेर बस्दैन । सबैलाई समेटेर साझा ढंगबाट अघि बढ्ने प्रयत्न हुन्छ ।

समाज : पछिल्लो समय प्रदेश सरकारमाथि आलोचना उच्च छ । सरकार स्थिर भएन, मन्त्रालयको संख्या बढ्यो, मन्त्रीहरु बढी भए । नागरिकको सेवा सुविधा र विकास भएन भन्ने आलोचना तीव्र छ । यसलाई व्यवस्थापन गर्नुहुन्छ ?
बानियाँ :
बागमतीमा मन्त्रालयको संख्या बढ्दैन । जे छ, हिजोको अवस्थाभन्दा बढ्ने अवस्था छैन । संविधानले दिएको अवस्था त अलि धेरै संख्या बनाउन मिल्ने रहेछ । २२ वटासम्म मन्त्रालय बनाउन अधिकार दिएको रहेछ । अब यो संविधान संशोधन गर्ने प्रक्रियामा रहेको छ । त्यहाँबाट मिलाउनु पर्छ । मुलुकको संविधान संशोधन हुँदा प्रदेशको संरचनाभित्र मन्त्रिपरिषद्को संरचनालाई पनि निश्चित गर्नुपर्छ । यसलाई संविधानमै व्यवस्था गरेर घटाउनुपर्ने छ ।

संविधानको व्यवस्थालाई प्रयोग गरेर अहिले धेरै मन्त्रीहरु भएका छन् । त्यसले अलिकति प्रदेशको गौरव घट्यो कि भन्ने तपाईंहरू सञ्चारकर्मीको कुरा केही हदसम्म सत्य पनि छ । यसलाई घटाउने क्रममा संविधान संशोधन गरेर व्यवस्थित, मर्यादित, प्रदेशमाथिको जनताको भरोसा जगाउने कुरा र यसलाई पारदर्शी, उत्तरदायी, जनताप्रति जिम्मेवारी र जनताप्रति निष्ठावान, इमानदार भएर काम गर्नेतर्फ अहिलेको मेरो नेतृत्वको प्रदेश सरकार लाग्नेछ । प्रदेश भनेको के हो भन्ने कुरा अब तपाईंहरुले देख्न पाउनुहुन्छ । हिजो बोल्ने मात्रै हुन्थ्यो । अब गर्ने कुरा सुरु हुन्छ ।

समाज : बजेट माथिको विवादलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
बानियाँ :
त्यो व्यवस्थापन तपाईंहरूले आज–भोलि नै लेख्न पाउनुहुन्छ । कसरी व्यवस्थापन हुन्छ, थाहा पाइहाल्नुहुन्छ ।

समाज : प्रदेश सरकारमाथि अब तपाईंले के चुनौती देख्नुभएको छ त ?
बानियाँ :
प्रदेश माथिको चुनौति भनेको अहिले सबैभन्दा जनतालाई सुशासन, पारदर्शी, उत्तरदायी, जिम्मेवार प्रदेश सरकार चाहिएको छ । त्यो महसुस दिलाउँछौं ।

समाज : अझै पनि बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी नै छ । अनि मन्त्री छनौट प्रक्रियामा पनि समस्या देखिएको छ । यसलाई यहाँले कसरी लिनुहुन्छ ?
बानियाँ :
समस्या होइन, व्यवस्थापन गर्नुपर्ने छ । ढुक्क हुनुहोस् ।

Exit mobile version