नेकपा एमालेबाट मन्त्री सिफारिस प्रदेशसभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज मंगलबार सपथ ग्रहण गर्दै हुनुहुन्छ । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र सपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालय हेटौंडाले जनाएको छ ।

बानियाँसँगै नेकपा एमालेका तर्फबाट मन्त्रीले पनि आजै सपथ ग्रहण गर्नेछन् । एमालेका मन्त्रीहरू आजै नियुक्त भई सपथ लिने एक प्रदेशसभा सदस्यले जानकारी दिए । उनका अनुसार एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने र अन्य ५ जना नयाँलाई अवसर दिएको छ ।

एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ भने दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर रहनुभएको छ । थापालाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुधन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनाउने एमालेको तयारी छ ।
उनका अनुसार एमालेबाट मन्त्री व्यक्ति टुंगिए पनि मन्त्रालयको बारेमा भने फेरबदल हुन सक्नेछ ।