हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने घोषणा गर्नुभएको छ । आइतबार हेटौँडास्थित प्रदेश सुशासन केन्द्रको हलमा मुख्यमन्त्री लामाले सहयात्री मन्त्रीहरुको समेत सहभागितामा राजीनामा घोषणा गर्नुभएको हो । राजीनामा घोषणा गरेपश्चात लामा काठमाडौं फर्कनुभएको छ ।
राजीनामा घोषणा गरेपश्चात उहाँ प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र बुझाउने जिम्मा छाडेर काठमाडौं फर्कनु भएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गर्नुभएका मुख्यमन्त्री लामाले प्रमुख स्वकीय सचिव लामालाई राजीनामा बुझाउने जिम्मा दिएको बताउनुभयो । प्रमुख स्वकीय सचिव लामाले भोलि मात्रै प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा बुझाउनुहुने बताइएको छ ।
‘मैले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको छु । सार्वजनिक रुपमा घोषणा पनि गरिसकेँ । आज नै बुझाउने भनेको प्रदेश प्रमुख ज्यू उपचारमा रहनु भएकाले भोलि मात्र बुझाउने काम हुन्छ’, मुख्यमन्त्री लामाले भन्नुभयो, ‘प्रदेश प्रमुख हेटौंडामै हुनु भएको भए आजै बुझाउने थिएँ । उहाँ भोलि आउनुहुने भएकाले स्वकीय सचिवलाई जिम्मा छाडेको छु । उहाँ आउनु भएपछि भेटेर दिने अन्यथा कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन गरेको छु ।’
प्रदेश प्रमुख देवकोटा स्वास्थ्य उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । लामा २०८१ साल साउन ९ गते मुख्यमन्त्री बन्नुभएको थियो । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि पार्टीको निर्देशन अनुसार राजीनामा घोषणा गर्नुभएको हो । पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।











