हेटौँडा : हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको ‘कक्षा १ को एक्जिट’ कार्यक्रम बिहिबार सम्पन्न भएको छ । एकीकृत पाठ्यक्रम अन्तर्गत ‘म र मेरो परिवार’ शीर्षकमा पढाइ भएपछि व्यवहारिक रुपमा विद्यार्थीको सिकाइ प्रदर्शनको रुपमा सो कार्यक्रम भएको हो । परिवारमा आधारित कार्यक्रममा विद्यार्थीहरूले अध्ययनका क्रममा प्राप्त ज्ञान तथा सीपलाई विभिन्न रचनात्मक गतिविधिमार्फत प्रस्तुत गरेका थिए ।
वर्षमा दुईचोटी आयोजना हुने एक्जिट कार्यक्रम शैक्षिक सत्र २०८२ को लागि यो पहिलो कार्यक्रम रहेको कक्षा १ की शिक्षिका इशा अधिकारीले जानकारी दिनुभयो । विद्यालयका शिक्षक, अभिभावक तथा अतिथिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कक्षा १ का विद्यार्थीद्वारा स्टेज प्रस्तुति, ‘नाउन’ खेल, व्यवहार प्रदर्शन, मपेट तथा पपेट प्रस्तुती, फोनिक्ससम्बन्धी गतिविधि, नाटक, गणित खेल, ‘र्याम्प वाक’, गायन र नृत्य प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए ।
‘म र मेरो परिवार’ शिर्षक अन्तर्गत कथा वाचन, कथा समिक्षा, गीत गाउने, चलचित्र हेर्ने र समिक्षा गर्ने, खेल खेल्ने, पुस्तक पढ्ने, अभिभावकको अन्तरवार्ता लिने, सलाद बनाउने, परिवारको वृक्ष (फ्यामिली ट्री) बनाउने तथा दैनिक डायरी लेखनका गतिविधिहरू समावेश गरिएका थिए । बिद्यालयका शिक्षिका अस्मिता लामाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानोदय बालबाटिका आवासिय माध्यमिक विद्यालयका निर्देशक श्यामकुमार बानियाँ, प्रधानाध्यापक सन्तोष शर्मा, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीलगायत अभिभावकहरूको आतिथ्य रहेको थियो ।










