हेटौंडा : यातायात व्यवस्था कार्यालय हेटौंडाले आज शुक्रबार गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिने यातायात व्यवस्था कार्यालय हेटौंडाका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयको चालु खर्चमा कुल २ करोड ५० लाख बजेट रहेकोमा एक करोड ७२ लाख ४ हजार ५०६ रुपैयाँ (६८.८२ प्रतिशत) खर्च भएको छ । पुँजीगततर्फ २२ लाख बजेटमा १० लाख ७३ हजार ६४ रुपैयाँ (४८.७७ प्रतिशत) खर्च भएको छ ।
कार्यालयले गत आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित बुँदाहरुको प्रगति विवरण र राजस्व संकलनको अवस्थाबारे जानकारी दिनेछ । कार्यालयअन्तर्गत् बहुवर्षीय आयोजना र अन्तरसरकारी वित्तीय हस्तान्तरणका कार्यक्रम नरहेको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।
कार्यालयले गत आर्थिक वर्ष ५७ करोड ४२ लाख ७६ हजार ७८४ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ६ हजार ९५ वटा नयाँ सवारी साधन दर्ता भएको छ । कार्यालयले ३ सय ८० वटा बाटो इजाजतपत्र जारी गरेको र १२ हजार ४ सय ४६ वटा बाटो इजाजतपत्र नवीकरण गरेको छ । प्रदूषण परीक्षण शून्य रहेको र सवारी जाँचपास १६ हजार ८ सय ७८ वटा वितरण गरेको छ । जनाएको छ ।
