एक वर्षको प्रगतिबारे जानकारी गराउनुहुँदै मन्त्री मनकुमार मास्के ।

हेटौँडा : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ४०७.५७ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार निर्माण तथा स्तरोन्नति भएका सडक मध्ये ९०.७० किलोमिटर नयाँ ट्र्याक निर्माण भएका छन् भने १५८.५८ किलोमिटर ग्राभेल, १०६.९५ किलोमिटर कालोपत्रे तथा ५१.३४ किलोमिटर ढलान सडक रहेका छन् ।

सो अवधिमा ३०२.६५ किलोमिटर सडक मर्मत गरिएको छ भने नियमित मर्मत १२९.०४ किलोमिटर, आकस्मिक मर्मत १७३.६१ किलोमिटरमा र पटके मर्मत ७६.७७ किलोमिटरमा गरिएको छ । २०.०९ किलोमिटर पक्की, २४.५० किलोमिटर ग्राभेल र १५.०२ किलोमिटर धुले सडकसमेत मर्मत गरिएको छ । पुल तथा कल्भर्ट निर्माणतर्फ १११ वटा संरचना निर्माण गरिएको मन्त्री अमनकुमार मास्केले जानकारी दिनुभयो । उहाँका अनुसार निर्मित संरचनामध्ये ३७ वटा झोलुङ्गे पुल र ७३ वटा कल्भर्ट रहेका छन् । आफ्नो एक वर्षे कार्यकालमा भवन निर्माणमा पनि प्रदेश सरकारले ध्यान दिएको उहाँले दावी गर्नुभएको छ ।

सो अवधिमा सार्वजनिक निर्माणतर्फ १२ वटा पार्क र ९५.०५ किलोमिटर पदमार्ग तथा बालमैत्री सडक निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । बस्ती विकास कार्यक्रमअन्तर्गत कुल १०६ युनिट संरचना निर्माण गरिएको छ भने चेपाङ, मुसहर, बोटे समुदाय लक्षित कार्यक्रम अन्तर्गत ५७ युनिट, जनता आवास कार्यक्रम (साधारण शर्त) अन्तर्गत ५ युनिट, जनता आवास कार्यक्रम (प्रवेश) अन्तर्गत ३९ युनिट तथा घरको छाना उपभोग कार्यक्रम अन्तर्गत ५ युनिट निर्माण गरिएको छ ।

मन्त्री मास्केका अनुसार २०८१ मा ‘रुग्ण आयोजना व्यवस्थापन कार्यविधि’ कार्यान्वयनमा ल्याएर उक्त अवधिमा ५५ वटा रुग्ण आयोजना पहिचान गरिएको छ । तीमध्ये २१ आयोजना सम्पन्न भइसकेका छन् भने बाँकीमा काम अघि बढाइएको छ । सम्पन्न आयोजना अन्तर्गत रामेछापको रणजोर खोला सडकपुल, काभ्रे चन्दनपुर सडकअन्तर्गत टुङ्गन खोला पुल, नुवाकोटको बागेश्वरी–काल्चे सडक, ललितपुरको मच्छिन्द्र क्याम्पस सामुदायिक भवन, भक्तपुरको झौखेल सडकपुल, काभ्रे, दोलखा, धुलिखेल, बनेपा लगायतका रहेको उहाँले बताउनुभयो ।

२०८१ साल असोज १० देखि १३ गतेसम्म आएको बाढीपहिरोका कारण मुलुकभरका सडकहरु अवरुद्ध भएका बेला हेटौँडा–कुलेखानी–दक्षिणकाली मार्ग, फाखेल मार्ग, चखेल मार्ग तथा रामेछापको गोगनपानी सडक तत्काल सञ्चालनमा ल्याउने कार्य मन्त्रालयको प्रमुख उपलब्धी रहेको उहाँले बताउनुभयो । सो कार्यका लागि मन्त्रालयस्तरीय ‘द्रूत प्रतिकार्य टोली’ समेत गठन गरिएको थियो । विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यका लागि मन्त्रालयको प्रस्तावमा प्रदेश सरकारबाट १५ करोड २५ लाख रुपैयाँ बजेट स्वीकृत गरी काम गरिएको उहाँले बताउनुभयो । सो बाहेक ५ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रस्ताव संघीय सरकारमा पठाइएको छ ।

पूर्वाधार निर्माणमा पारदर्शिता, समय सीमा र गुणस्तर सुनिश्चित गर्न वार रुम प्रणाली लागू गरिएको छ । साथै, नीति निर्माणको सन्दर्भमा बागमती प्रदेश सरकारले पहिलोपटक ‘बागमती प्रदेश भवन नीति २०८१’ पारित गरेको छ । ‘जग्गा एकीकरण ऐन २०८१’ को अवधारणापत्र स्वीकृत भइसकेको छ भने ‘प्रदेश सहरी नीति २०८२’ मन्त्रीपरिषद्मा पेश गरिएको छ । ‘आन्तरिक नियन्त्रण प्रणाली २०८१’ लागू गरिनुको साथै ‘प्रादेशिक सडक मापदण्ड’ को मस्यौदा समेत तयार पारिएको छ ।

मन्त्रालयले पूर्वाधार निर्माणका लागि अध्ययन तथा अनुसन्धानमा समेत जोड दिएको छ । सरकारी भवन व्यवस्थापन सूचना प्रणाली, उदयीमान बजार केन्द्रहरुको पूर्व सम्भाव्यता अध्ययन, बृहत हेटौँडा गुरुयोजना, भवन संहिताको कार्यान्वयन सम्बन्धी अध्ययन, एकीकृत वस्ती तथा जग्गा एकीकरण सम्बन्धी अध्ययन जस्ता कार्यहरु सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयले पूर्वाधार विकासमा अझ सशक्त रूपमा अगाडि बढ्ने तयारी गरेको मन्त्री मास्केले बताउनुभयो । प्रदेशको दोस्रो आवधिक योजना (२०८१–८६) अनुरूप सन्तुलित, समावेशी र दिगो विकासलाई लक्ष्य राखिएको उहाँको भनाई छ । चालू आर्थिक वर्षका लागि कुल २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

चितवनको गोलाघाटदेखि गणेश हिमालसम्मको ट्रेकिङ र अर्बन पार्क परियोजना, पुराना वस्ती संरक्षण, नयाँ वस्ती विकास तथा जोखिमयुक्त वस्ती स्थानान्तरण गरी व्यवस्थित वस्ती विकासको योजना अघि सारिएको छ । चेपाङ, बोटे, वनकरिया लगायत समुदायलाई लक्षित गरी एकीकृत वस्ती विकास कार्यक्रमलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेशमा सूचना प्रविधि पार्क निर्माण, दक्षिणकालीमा फोहोरमैला प्रशोधन केन्द्र, हेटौँडामा साँस्कृतिक ग्राम निर्माण, माटो र चुनाको मिश्रण प्रयोग गरी सस्तो प्रविधिमा नमूना आवास निर्माण, विपद् न्यूनीकरणमा बेलिब्रिज खरिद, तथा परामर्श सेवा खरिदको दररेट निर्धारण सम्बन्धी कार्यहरु समेत सञ्चालन गरिनेछ ।