पछिल्लो समय हेटौंडा लागूऔषध कारोबार गर्नेको अखडा बन्दै गएको छ । लागूऔषध ओसारपसार, बेचविखन तथा दुव्र्यसनले हेटौंडालाई आक्रान्त पार्दै गएको छ । मकवानपुर प्रहरीले विशेष सूचनाका आधारमा र राजमार्गमा सुरक्षा जाँच गर्ने क्रममा लागूऔषधसहित थुप्रैलाई पक्राउ गरिरहेको छ । चालु आर्थिक वर्ष सुरु भएपछिको १० दिनमै मकवानपुर प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिसकेको छ । अघिल्लो बिहीबारदेखि शनिबारसम्मको तीन दिनमा मात्र प्रहरीले १४ जनालाई पक्राउ गरेको थियो । शनिबार पनि प्रहरीले ४ जना भारतीय नागरिकलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ । कुलेखानीको हेभीबाट प्रहरीले शनिबार राति ९ बजे डाइजेपाम, फेनारगन, नोरफिनलगायत लागूऔषध ५ हजार एम्पुलभन्दा बढी बरामद गरेको छ । अन्य दिन पनि लागूऔषधसहित मानिस पक्राउ भएका छन् ।
प्रहरीले दिनहुँ लागूऔषध बरामद गर्दै कारोबारमा संलग्नलाई पक्राउ गर्न थालेपछि यसको समस्या बढ्दै गएको देखिन्छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुर प्रहरीमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्दा दर्ता हुनुले पनि यसको समस्या जटिल बनिरहेको पुष्टि हुन्छ । जिल्लामा भएका सबै प्रकारका आपराधिक घटनामध्ये प्रमुख चुनौतीको रुपमा लागूऔषधसम्बन्धी मुद्दा देखिएकाले यसको नियन्त्रण पनि पेचिलो बन्दै गएको हो । एक वर्षको अवधिमा जिल्लामा लागूऔषधसम्बन्धी एक सय ८८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । औसत दुई दिनमा एउटा लागूऔषसम्बन्धी मुद्दा दर्ता हुने गरेको देखिन्छ । गत आर्थिक वर्ष लागूऔषध मुद्दामा २ सय ८० पुरुष र १८ जना महिलासहित २ सय ९८ जना पक्राउ परेका छन् ।
मकवानपुर प्रहरीले गत आर्थिक वर्षमा ६ हजार ४ किलोग्राम गाँजा, २६ किलोग्राम अफिम र ५१ किलोग्राम चरेस बरामद गरेको छ । प्रहरीले खैरो हेरोइन ४ सय ७६ ग्राम, नाइट्राभेट ९५ हजार २ सय ७१ ट्याब्लेट, डाइजापाम २ हजार ७ सय ५७ एम्पुल, कोरेक्स ६ सय २८ बोतल नियन्त्रणमा लिएको थियो । लागूऔषध ओसारपसारमा प्रयोग गरिएका ५५ वटा सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिइएको थियो । लागूऔषध कारोबारमा धेरैजसो २५ वर्षमुनिका युवाहरु संलग्न देखिनुले यो समस्या झनै भयावह बनिरहेको अनुमान गर्न सकिन्छ । लागूऔषध उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवन गैरकानुनी भए पनि यसको नियन्त्रणमा प्रहरी प्रशासन असफल सावित भइरहेको छ । प्रहरीले हरेक वर्ष मकवानपुरमा अभियानकै रुपमा गाँजा तथा अफिम खेती फँडानी गर्दै आएको भए पनि जिल्लामा गाँजा तथा अफिम खेती नियन्त्रण गर्न सकेको छैन । भारतबाट भित्रने खैरो हेराइन तथा औषधिजन्य लागूऔषध नियन्त्रण गर्नसमेत चुनौती बन्दै गएको प्रहरी प्रशासनले समेत स्वीकार गरेको छ ।
लागूऔषध आफैँ एउटा जटिल समस्या हो । यसको दुव्र्यसनका कारण थुप्रै युवाले आफ्नो भविष्य बर्बादमात्र पारेका छैनन्, कयौंले ज्यानसमेत गुमाएका छन् । लागूऔषधकै कारण आर्थिक क्षति भइरहेको छ । यसले सामाज तथा परिवारमा कलह र विचलन बढाइरहेको छ । लागूऔषधले आपराधिक घटनासमेत बढ्दै गएको छ । लागूऔषध नियन्त्रणमा खटिएका प्रहरी एवम् सुरक्षाकर्मीमाथि नै हतियारसहित भौतिक आक्रमण हुने गरेको छ । यस्ता धेरै समस्याको जड बनिरहेको लागूऔषध नियन्त्रण साँच्चै जटिल र चुनौतीपूर्ण बनिरहेको छ ।











